१५ असार २०८३, सोमबार

गुप्तचर अधिकारीहरु नेपालमा सक्रिय रहेको भारतीय मिडियाको दाबी

असार २४, २०७७
गुप्तचर अधिकारीहरु नेपालमा सक्रिय रहेको भारतीय मिडियाको दाबी

नेकपाको स्थायी कमिटीको महत्त्वपूर्ण बैठकअघि भारतका पक्षमा समर्थन बढाउनका लागि भारतीय गुप्तचर अधिकारीहरू काठमाडौंमा डेरा जमाएरै बसेको भारतबाट प्रकाशन हुने द पायोनीयर नामक अन्लाइन पत्रिकाले खबर दिएको छ । 

राकेश के सिंहको बाइलाइनमा प्रकाशित खबरअनुसार, जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयल र इन्टेलिजेन्स ब्यूरोका प्रमुख अरविन्द कुमारले विभिन्न दलका नेताहरूसँगको भेटघाट तीव्र बनाएका छन् । चिनियाँ राजदूतले नेकपा नेताहरूलाई भेटिरहेको बेलामा भारतीय गुप्तचर अधिकारीहरू पनि सक्रिय बनेका हुन् । 

गोयल र कुमारले नेपाली नेताहरूलाई भेटेर क्षति नियन्त्रणको काम गरिरहेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालले नक्सा जारी गर्दै त्यसलाई संवैधानिक मान्यता दिएपछि भारतीय गुप्तचर अधिकारीहरू सक्रिय बनेका हुन् । उनीहरूलाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले सीधै निगरानी गरिरहेको बताइएको छ ।

भारतीय अधिकारीहरूले पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, केशव बडाल लगायतका नेताहरूलाई भेटिसकेका छन् । उनीहरूले ओली निकटका नेता शंकर पोखरेल र ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि भेटिसकेको बताइएको छ । 

विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै डा मिनेन्द्र रिजाल, विमलेन्द्र निधि र कृष्ण सिटौलालाई पनि भारतीय जासूसी निकायका शीर्ष अधिकारीहरूले भेटेको स्रोतले जानकारी दिएको छ । 
 

मधेशवादी दलका नेता महन्थ ठाकुर, उपेन्द्र यादवका साथै डा बाबुराम भट्टराईसँग पनि उनीहरूले भेटघाट गरेको बताइएको छ ।  

भारतको नेपालसँग गहिरो सभ्यतागत तथा सांस्कृतिक सम्बन्ध छ तर नेपाली नक्साको संशोधनले दुई देशबीचको सम्बन्धमा खलल पुर्‍याउने खतरा रहेको भारतको बुझाइ छ । विश्वासको क्षयीकरणलाई रोक्न अनि सम्बन्धलाई पुनः सही दिशामा ल्याउन नयाँ दिल्लीले उच्चस्तरीय संवाद जारी राखेको स्रोतको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्