
'लोकान्नर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले उठाउँदै आएको 'क्रमभंग'को अवधारणालाई गलत ढंगले बुझ्ने गरिएको भन्दै बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलन पनि परिवर्तन हुनुपर्ने बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको उल्लेख गर्दै परिवर्तन नै प्रकृति र समाज विकासको नियम भएको तर्क गरे।
'मलाई मानिसहरूले विभिन्न कोणबाट हेरेर विभिन्न चित्र बनाउने गरेका छन्, त्यो मलाई थाहा छ। मैले 'क्रमभंग' भन्यो भने अब के उत्पात गर्न लाग्यो भन्ने ठानिन्छ।
तर निरन्तरताभित्र क्रमभंग गर्नु प्रकृति र मानव विकासको नियम हो,' उनले भने।
प्रचण्डले पुरानै सोच र कार्यदिशामा अडिग रहँदा कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने दाबी गरे। 'हाम्रा धेरै साथीहरू त्यही अवस्थामा बसिरहेका छन्। अहिले पनि नयाँ जनवाद भन्दै बस्नुभयो भने त्यसले कहीँ लाँदैन। परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ,' उनले भने।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी नगरेको बताएका छन्। तर, वैधानिक सरकारलाई अवैध ढंगले विस्थापित गरिएको उनले गुनासो गरे।
मदन भण्डारीको ७५औँ जन्मदिनको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफूहरूले भ्रष्टाचार गरेको भनेर झुटा प्रचार गरेर आन्दोलन गरिएको बताएका हुन्।
ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी नगरेको पनि बताए। तर, वैधानिक सरकारलाई अवैध ढंगले विस्थापित गरिएको उनले गुनासो गरे।
००००
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा दिगो र सिद्धान्तनिष्ठ एकताको आवश्यकता औँल्याउँदै भावनात्मक र संगठनात्मक आधार बलियो बनाएर मात्र एकीकरण सफल हुने बताए ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन नसक्दा ठूलो राजनीतिक क्षति व्यहोर्नुपरेको बताए ।
००००
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
००००
विश्वकपको सह-आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० गोल अन्तरले स्तब्ध पार्दै पहिलो पटक विश्वकपको प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा आफ्नो स्थान बनाएको छ ।
गएराति अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न 'राउण्ड अफ ३२' को प्रतिस्पर्धात्मक खेलमा क्यानडालाई यो ऐतिहासिक सफलता प्राप्त भएको हो।
००००
मधेस प्रदेशमा २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनसम्बन्धी सेवा अब प्रदेश सरकारबाटै उपलब्ध हुने भएको छ।
संघीय सरकारले त्यस्ता उद्योगको प्रशासनिक अधिकार मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि उद्योगसम्बन्धी सेवा प्रदेशस्तरबाट सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो।
००००
सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।
००००
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले राष्ट्रिय मानवअधिकार आयोगसँग आफूलाई मानवअधिकार उल्लंघनकर्ता ठहर गर्दै गरिएको निर्णयसँग सम्बन्धित कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गर्दै निवेदन दिएका छन् ।
उनले शुक्रबार आयोगको छानबिन प्रतिवेदनको ‘प्रमाणित प्रतिलिपि (सूचना) उपलब्ध गराई पाऊँ’ भन्दै निवेदन दिएका हुन् ।
००००
पशु सेवा विभागले काठमाडौं उपत्यकामा कागका कारण बर्डफ्लु फैलिएको बताएको छ ।
विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । 'कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन,' उनले भने, 'सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।'
००००
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाहीसहित जरिबाना गरेको छ ।
आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
००००
नेपाल सरकारले गाउँपालिका, नगरपालिका र वडाहरूको संख्या तथा सिमाना हेरफेर र नगरपालिकाहरूको वर्गीकरण पुनरवलोकन गर्ने कार्यलाई व्यवस्थित एवं वैज्ञानिक बनाउन नयाँ मापदण्ड जारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ राजपत्रमा प्रकाशित गरी लागु गरेको हो ।
००००
गृहमन्त्री सुदन गुरुङले पूर्वजानकारी बेगर पर्सा र बाराका सीमा नाकाहरूमा छड्के अनुगमन गरेका छन् ।
यसअघि प्रहरी र सशस्त्र प्रहरीका प्रमुख (आईजीपी)सम्मले सादा पोशाकमै पुगेर छड्के अनुगमन गरे पनि गृहमन्त्रीस्तरमा भएको यो अनुगमन पहिलो हो ।
सामान्य सर्वसाधरण झैँ गुरुङ शुक्रबार साँझ नै हेटौँडाबाट पथलैया हुँदै बारा झरेका थिए । यो घटनाले सुरक्षा निकायमा तरंग फैलियो नै । सँगसँगै गृहमन्त्रीले ‘प्रोटोकल’ बाहिर गएर अनुगमन गर्दा उनकै सुरक्षा जोखिम बढेको भनेर पनि चर्चा भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल चितवनबाट शुक्रबार राति करिब ९ बजे सोझै पथलैया पुगेका गुरुङ पूर्व–पश्चिम राजमार्गको पिलुवा हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए ।