
काठमाडौं, १८ वैशाख — 'बाहुबली'मा भल्लालदेवको भूमिका खेल्ने कलाकार राणा दग्गुबतीले आफ्नो एउटा आँखा अन्धो भएको खुलासा गरेका छन् ।

फिल्ममा उनी मांसल अर्थात् मस्कुलर लूकमा देखा परेका छन् । अनि वास्तविक जीवनमा पनि उनी बलिया र हट्टाकट्टा नै छन् ।
तर हालै दिएको एक अन्तर्वार्तामा उनले एउटा आँखाले हेर्न नसक्ने खुलासा गरे ।
एक तेलुगु च्याट शोमा उनले भने, ‘म तपाईंहरूलाई एउटा कुरा भन्छु । म दाहिने आँखाबाट केही देख्दिनँ । एकजनाले मरेपछि मलाई बाल्यकालमा आँखा दान गरेका थिए । तर त्यसमा उज्यालो कहिल्यै आएन । मैले आफ्नो देब्रे आँखा बन्द गरें भने केही पनि देख्दिनँ ।’
राणाले थप भने, ‘म सानो हुँदा डाक्टर एलभी प्रसादले मेरो अपरेसन गरेका थिए । मैले राम्रो पढाइ गरेमा उनले मलाई सहयोग गर्ने बताएका थिए । उनले नै मलाई अघि बढ्न हौसला दिइरहे ।’
सन् १९८४ मा राणा चेन्नईमा जन्मेका थिए । उनले आफ्नो फिल्मी करीयरको शुरुवात सन् २०१० को पोलिटिकल थ्रिलर लीडरबाट गरेका थिए ।
दैनिक भास्करबाट