
नेपालमा चिनियाँ राजदूतको सक्रियता बढेपछि भारतीय मिडियाले भारतविरोधी ओलीलाई बचाउन चीन लागिपरेको भनी टिप्पणी गरिरहेका छन् ।
केही हिन्दी च्यानलहरू ओली र चिनियाँ राजदूत होउ यान्छीका विषयमा आधारहीन दाबी गरे । जी न्युजले त ओलीलाई हनी ट्य्रापमा फसाइएको समेत भनिदियो ।
नेपालले यस्ता रिपोर्टमा कडा आपत्ति जनायो अनि नेपालका केबल अपरेटरहरूले आफ्नो जिम्मेवारी बोध गरेर भारतका निजी समाचार च्यानलको प्रसारणमा रोक लगाए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई कडा विरोधपत्र पेश गर्न निर्देशन दिइसकेका छन् ।
आचार्यले भारतीय मिडिया नेपाल–भारत सम्बन्धलाई झनै खराब बनाउन लागिपरेको बताए ।
सीमाविवादका कारण नेपाल र भारतको सम्बन्ध अहिले चिसिएको छ ।
इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनका प्राध्यापक आनन्द प्रधानले भने, ‘भारतीय मिडियाको रिपोर्टिङमा पत्रकारिताको आधारभूत सिद्धान्तको पालन गरिँदैन । समाचार जहिले पनि तथ्यमा आधारित हुनुपर्छ ।
काल्पनिक कुरा राखिनुहुँदैन । शोको लोकप्रियता बढाउनका लागि कुनै देशको राजदूतले प्रधानमन्त्रीलाई हनी ट्य्रापमा फसाएको भन्ने कुरा कसरी प्रसारण गर्न सकेका ? यो त अति नै आपत्तिजनक छ ।’
उनी थप्छन्, ‘नेपाललाई भारतको एक अंगका रूपमा भारतीय मिडियाले लिने गरेका छन् । नेपाल एक सम्प्रभुतासम्पन्न राज्य हो भन्ने कुरा उनीहरूले अहिलेसम्म स्वीकार गर्न सकेका छैनन् । आफ्नो निर्णय आफैं गर्न सक्ने र परराष्ट्रनीति आफैं चलाउन सक्ने मुलुकका रूपमा नेपाललाई उनीहरूले स्वीकार गर्नुपर्ने हो । भारतीय मिडियाले उपनिवेशवादी सोचलाई त्याग्नुपर्ने हुन्छ । यी मिडियाको रिपोर्टिङ यत्तिकै तल्लो स्तरको रहिरहेमा दुई देशका मानिसको सम्बन्धमा रहेको न्यानोपन कम हुँदै जानेछ ।’
भारतीय न्युज च्यानलहरूले नेपाल–भारत तनावलाई गसिपका रूपमा लिएको अनेकौं भारतीय पत्रकारले बताए ।
इन्डिया टुडेका एक न्युज एंकरले नाम नखुलाउने शर्तमा भने, ‘नेपाल–भारत विवादमा केही च्यानलको रिपोर्टिङ बलिउड गसिप जस्तो छ । तपाईंको प्रधानमन्त्रीको मर्यादा छ भने नेपालका प्रधानमन्त्रीको पनि त्यत्ति नै मर्यादा हुन्छ । तपाईं पत्रकार हुँदैमा कसैको मानमर्दन गर्ने अनि कसैको चाहिँ चर्को प्रशंसा मात्रै गरिरहने गर्न मिल्दैन ।’
बीबीसी हिन्दीबाट