
अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई बढी नै सतर्क रहन चेतावनी दिएको छ । स्वेच्छाचारी रूपमा हिरासतमा लिइने खतरा तथा विदेशी नागरिकलाई देश छोड्नबाट लगाइएको प्रतिबन्धका कारण जोखिम बढेको अमेरिकाको भनाइ छ ।
अमेरिकाको कन्सुलर सहायता नपाएमा नागरिकहरूले कारागारमा लामो समय बिताउनुपर्ने अमेरिकाको परराष्ट्र मन्त्रालयको भनाइ छ ।
बेइजिङले हङकङका लागि राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि यस्तो चेतावनीयुक्त इमेल चीनमा रहेका अमेरिकी नागरिकहरूलाई पठाइएको हो ।
उक्त कानूनमार्फत चीनले क्षेत्राधिकार बाहिर गएर कुनै पनि देशका कुनै पनि व्यक्तिका विरुद्ध अभियोग लगाउन सक्ने र संसारभरिका आलोचकलाई मौन रहन बाध्य पार्ने बताइएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले के कति कारणले सतर्कता जारी गर्नुपर्ने अवस्था आइलागेको भनी स्पष्ट पारेन तर निजी कुराकानीमा समेत चिनियाँ सरकारको आलोचना गर्दा विदेशी नागरिकहरूका विरुद्ध अभियोगको स्थिति आउने अमेरिकाको भनाइ छ ।
‘चीन सरकारको आलोचना गर्ने निजी सन्देशहरूका लागि समेत सुरक्षाकर्मीहरूले अमेरिकी नागरिकलाई नियन्त्रणमा लिने र/वा सुपुर्दगी गर्ने सम्भावना रहन्छ,’ उसले थप्यो । तर यसको विशिष्ट उदाहरण उसले दिएन ।
दुई महाशक्ति राष्ट्रबीच व्यापार, कोभिड–१९ महाव्याधि, हङकङ, सिनजियाङ लगायतका विषयमा तनावको स्थिति रहेको बेलामा सुरक्षा सतर्कता जारी गरिएको हो ।