
काठमाडौं, १८ वैशाख– नेपालमा आइतबार विकास भएको राजनीतिक घटनाक्रमपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेका छन् ।
सत्ताधारी गठबन्धनका एक तिहाइ सांसदले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेसँगै उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएका छन् । देशका तीन पूर्व प्रहरी प्रमुखहरुलाई एउटा घोटाला प्रकरणमा जेल पठाउने फैसला भएको छ भने आधा रातमा कायममुकायक प्रधानन्यायाधीश नियुक्ति गरेको छ ।
कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएका छन् । उनले आफूलाई महाभियोगबारे प्रधानमन्त्री प्रचण्ड र आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले कुनै जानकारी नदिएको भन्दै राजिनामा दिएको बताएका छन् ।
आइतबार दिउँसोसम्म दुई तिहाई बहुमत जुटाउन सफल रहेको सरकारका अब अल्पमतमा परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । सरकारको सहयोगी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावको विरोधमा फिर्ता लिने तयारी गरेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको छ ।
राजनीतिमा आएको नाटकीय परिवर्तनछि आइतबार राति नेपाली सेनाको समेत आपतकालीन बैठक बसेको र वर्तमान अवस्थाबारे छलफल भएको जनाइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्ड तथा सेना प्रमुख राजेन्द्र क्षेत्रीबीच भेटवार्ता भएको छ ।
