
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्ममिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विरुद्ध आरोपपत्र दायर गरेको छ ।
अख्तियारले मंगलवार डीएसपी रमेशबहादुर सिंहविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति सच्याएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै अभियोगबारे जानकारी गराएका छन् ।
अख्तियारको विज्ञप्तिमा उल्लेख छ, ‘हाल नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेशबहादुर सिंहले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित जम्म मिति सच्चाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपि समेत लिएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा निज रमेशबहादुर सिंहले राष्ट्रसेवक नेपाल प्रहरीको (प्रहरी निरीक्षक) ओहदा प्राप्त गर्न जिल्ल प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तसाथ पेश गरी सरकारी लाभ सुविधा लिई तत्कालीन भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) विपरीतको कसुर गरेको पुष्टि भएकोले निज रमेश बहादुर सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’