०२ साउन २०८३, शनिबार

अमेरिकामा पढिरहेका विदेशी विद्यार्थीलाई निकाल्ने निर्णयबाट पछि हट्यो ट्रम्प प्रशासन

असार ३१, २०७७
अमेरिकामा पढिरहेका विदेशी विद्यार्थीलाई निकाल्ने निर्णयबाट पछि हट्यो ट्रम्प प्रशासन

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत हजारौं विदेशी विद्यार्थीहरूलाई अन्लाइन कोर्स लिनुपर्ने अवस्था आएमा सुपुर्दगी गरिने भनी ट्रम्प प्रशासनले प्रस्ताव गरेको नीति फिर्ता लिएको छ । 

प्रस्तावित नीतिका सम्बन्धमा हार्वर्ड विश्वविद्यालय र मासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ गरिसकेपछि यूएस डिस्ट्रिक्ट न्यायाधीश एलिसन बोरोजले नयाँ नीति खारेज गराउन प्रशासन सहमत भएको घोषणा गरे । 

यी दुई विश्वविद्यालयलाई अन्य सयौं विश्वविद्यालय तथा क्याम्पस र प्रविधि कम्पनीहरूले मुद्दा दर्ता गर्न साथ दिएका थिए । उनीहरूले ट्रम्प प्रशासनसँगै इम्मिग्रेसन यान्ड कस्टम्स इन्फोर्समेन्टविरुद्ध मुद्दा दर्ता गरेका हुन् । 

नयाँ नियमले विद्यार्थीहरूलाई हानि गर्ने मात्र नभई अमेरिकालाई अर्बौं डलरबाट वञ्चित गराउने पनि उनीहरूको जिकिर थियो । 

यसका साथै यस नियमले सुरक्षित अवस्था नआइसकेको अवस्थामा विश्वविद्यालय पुनः खोल्न लगाउँदा सार्वजनिक स्वास्थ्यलाई समेत जोखिममा पार्ने उनीहरूले बताएका थिए । हार्वर्ड विश्वविद्यालयले फल सेमेस्टरका अधिकांश कक्षाहरू अन्लाइन सञ्चालन गर्ने भएको छ भने एमआईटीले अन्लाइन र भौतिक कक्षा दुवैको मिश्रित मोडल अपनाउने भएको छ । 

यी विश्वविद्यालय बाहेक १७ वटा राज्य र वाशिङटन डीसीका डिस्ट्रिक्ट एटोर्नीहरूले उस्तै किसिमका जिकिर लिँदै बेग्लै मुद्दा दायर गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्