
साढे ३ महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् ।
मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायतले सेवा शुरू गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको १ सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक सवारीसाधन सञ्चालन गर्नु पहिले आवश्यक स्वास्थ्य सुरक्षाको तयारी नभएकाले ट्याक्सी र केही बसबाहेक अधिकांश सवारीसाधन सञ्चालन नभएको जनाएको छ । अहिले त्यस विषयमा सरकारसँग छलफल भइरहेको महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले भने, ‘छलफल सकारात्मक दिशामा छ, हामी सबै सवारीसाधन चलाउनुपर्छ भन्नेमा छौं ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायात सञ्चालनका लागि व्यवसायी महासंघ र मजदूर संगठनसँगको छलफल अघि बढाइरहेको छ । सोमवार विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायी महासंघसँगै मजदुर संगठनसँग छलफल गरेका थिए ।
बुधवार पनि विभागमा व्यवसायी, मजदुर संगठनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानीय सरकारका प्रतिनिधि संलग्न भएर छलफल हुँदैछ ।
अहिले महासंघले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा समेत आवाज उठाएको महासंघका महासचिव सिटौलाले बताए । काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को संक्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताए ।
अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।
लामो समयसम्म थन्किएका सवारीसाधनको मर्मत बाँकी भएको, मर्मतकै लागि कतिपय वर्कसपका मिस्त्री बाहिर रहेको र अहिले पनि धेरै चालक, सहचालक सम्बन्धित स्थानमा नरहेकाले तत्काल सञ्चालन गर्ने अवस्था नभएको बताइएको छ । पहिले जसरी जुनसुकै स्थानमा सवारीसाधन नरोकिने गरी छलफल भइरहेको उनले बताए । ‘साबुन पानीको व्यवस्था भएका ठाउँमा मात्रै रोकिन्छ, यात्रु पहिलेभन्दा केही दूरीसम्म हिँड्नुपर्ने हुनसक्छ,’ उनले भने ।
यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सरकारले पनि बुधवार निर्णय गरेर बिहीवारदेखि नै सबै सवारीसाधन चल्छन् भन्ने नसोचेको बताए । लामो समय थन्किएका सवारीसाधन मर्मत गरेर सडकसम्म ल्याउन समय लागेको उनको भनाइ छ । त्यससँगै यात्रु र चालकलाई कसरी सुरक्षित बनाएर सञ्चालन गर्ने भनि विभागमा छलफल भइरहेको छ ।
सवारीसाधन एकै पटक ठूलो संख्यामा सडकमा आए पनि यात्रु कम हुने उनको भनाइ छ । उनले भने, ‘अहिले हामीले व्यवसायीलाई पनि सञ्चालन गर्नैपर्छ भन्ने अवस्था छैन ।’
सवारीसाधन सञ्चालनका लागि धेरै कर्मचारी घर गएकाले मजदुर व्यवसायी संगठनले तीनलाई फर्काउन विभागले समन्वय गर्नुपर्ने माग गरेका छन् । गृह मन्त्रालयसँग समन्वयमा उनीहरूलाई फर्काइने महानिर्देशक हमालले बताए । सार्वजनिक सवारीसाधन संक्रमण फैलाउन सक्ने हुनाले त्यसमा सचेत हुनुपर्ने उनको भनाइ छ ।
सवारीसाधन सञ्चालनका लागि यात्रु पनि धेरै सडकमा आइसकेका छैनन् । गत साता ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै चालक सडकमा आएका थिए । अहिले उनीहरु नै जोर बिजोरमा सञ्चालन गर्न माग गरिरहेका छन् । अहिले जिल्लाभित्र सञ्चालन गर्ने भनिए पनि संक्रमण कम भएमा प्रदेशभित्र विस्तार गर्न सकिन्छ ।