३१ असार २०८३, बुधबार

'हरेक निहुँमा ओलीको राजीनामा मागेर न नेकपाले निकास पाउछ, न जनताले विकाश'

'हरेक निहुँमा ओलीको राजीनामा मागेर न नेकपाले निकास पाउछ, न जनताले विकाश'

नेपाल–चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झाले हरेक निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेर नेकपाले अहिले निकास फेला पार्न नसक्ने बताएका छन् ।

प्रतिपक्षी दलको समेत विश्वास जितेर कोरोनाविरुद्धको लडाइमा लाग्नुपर्नेमा नेकपाका शीर्ष नेताहरु सत्ता परिवर्तनको खेलमा लाग्दा नेपालका शुभेच्छुक चिन्तित रहेको उनको विश्लेषण छ । 

‘सत्ताको लोभमा र कसैको इसारामा नेकपा भित्र यो हलचल भइरहेको हो भने यसले नेकपालाई मात्र होइन देशमा अनिष्ट निम्तिने खतरा रहन्छ’ झाको  विश्लेषण छ । कोरोनासँगै बाढी पहिरोका कारण देश थिलथिलो भएको समयमा नेकपाले सम्पूर्ण शक्ति देशको आर्थिक पुनरुत्थानमा लगाउनु पर्ने उनको सुझाव छ । 

‘संसारमा कम्युनिष्ट पार्टीहरू सत्तामा आएपनि उनीहरु टुक्रिएर सकिएको इतिहास छ, विश्वमा कम्युनिस्ट आन्दोलन शिथिल बनेको समयमा दुईतिहाइ बहुमतसहित सरकार चलाएको नेकपाको स्थिती त्यस्तो नहोस भन्नेमा चीन लगायत समाजवादमा विश्वास गर्ने देशको शुभेच्छा बुझ्न सकिन्छ’ डा झाको विश्लेषण छ ।

नेकपाभित्र देखिएको अहिलेको विवादले राजनीतिक कोर्स बदलिन सक्ने उनको चिन्ता छ । ‘जसरी सुविधा जनक बहुमत हुँदाहुँदै २०५१ सालमा नेपाली कांग्रेसले मध्यावधि चुनाव घोषणा गरेपछि देशको राजनीतिको कोर्स फेरियो र अस्थिरता शुरु भयो, जनताले विकास र स्थिरता खोजेको समयमा अहिले फेरि त्यो अवस्थाको सिर्जना नहोस भन्नेमा नेकपाको जिम्मेवार नेतृत्व सचेत हुनैपर्छ’ डा झा भन्छन् ।

डा. राजीव झा

कम्युनिस्ट पार्टीको नेता भएपनि नेपालका प्राय प्रधानमन्त्रीहरु परिवारबादमा लागेको र उनीहरुको कार्यशैली आलोचना मुक्त नरहेको जनताको टिप्पणी रहने गरेको उनको विश्लेषण छ । 

‘यदी व्यक्तिको कार्यशैलीका कारण अहिलेको समस्या निम्तिएको हो भने प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायतको सचिवालयमा कसलाई राख्ने भन्ने निर्णय पार्टीले गर्दा नै उपयुक्त हुन्छ’ डा. झा भन्छन् । 

जिम्मेवारी बाँडफाँड सहित आपसमा मिल्नुमा नै नेकपाको भविष्य रहेको उनको विश्लेषण छ । ‘यो बेला ओलीलाई प्रधानमन्त्रीबाट हटाएर न नेकपाले निकास पाउँछ, न जनताले विकास पाउँछन्,’ डा झाको विश्लेषण छ ।

salt training

कमेन्ट गर्नुहोस्