
पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
शनिवार दिउँसो करीब सवा ३ बजे शुरू भएको बैठकले सहमतिको अधिकतम प्रयास गर्ने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।
भोलि आईतबार बस्ने स्थायी कमिटीको बैठकअघि नै सहमति जुट्ने एक स्थायी कमिटी सदस्यले विश्वास व्यक्ति गरे । ‘स्थायी कमिटी बैठकले सुल्झाउन नसकेको विवाद केन्द्रीय कमिटीमा लगेर सहमति गर्न कठीन हुन्छ भन्ने बुझेर सचिवालयमार्फत सहमतिको प्रयासमा नेताहरू लाग्नुभएको हो,’ ती सदस्यले लोकान्तरसँग भने ।
सचिवालय बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार भएको थियो । असार १० गतेदेखि शुरू भई पटक–पटक स्थगित हुँदै आएको सचिवालय बैठक भोलि आइतवारसम्मको लागि सारेर सचिवालय बैठक बसेको हो ।
स्थायी कमिटी बैठकमा प्रचण्ड लगायत नेताहरूले ओलीको राजीनामा माग गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको थियो । असार १७ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।