
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रवार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको छ ।
नेकपाभित्र शक्तिसंघर्षलाई लिएर गहिरिएको संकट समाधानका निमित प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका हुन् । विगत केही दिनदेखि देखिएको अध्यक्षद्वयको संवादहीनता आजको भेटसँगै तोडिएको छ ।
स्रोतका अनुसार प्रचण्ड बिहान ११ बजेतिर बालुवाटार पुगेका थिए । दुवै अध्यक्षबीच करीब २ घण्टा भेटवार्ता भएको बालुवाटारनिकट स्रोतले लोकान्तरलाई बतायो ।
गत असार १० गतेदेखि शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा मागिएको थियो । ओलीको राजीनामा मागिएपछि विगत केही महिनादेखिको खटपटले नेकपामा संकटको रूप लियो ।
पटक-पटक स्थगित भएको नेकपा स्थायी कमिटी बैठक यही साउन १३ गतेलाई बोलाइएको छ । स्थायी कमिटी बैठकमा छलफल गर्नुपर्ने एजेण्डाका बारेमा ओली र प्रचण्डबीच छलफल भएको हो ।
पार्टीभित्र देखिएको संकट समाधानका निम्ति ओलीले राखेको अर्ली महाधिवेशनको प्रस्ताव ओलीइतर समूहले अस्वीकार गरिसकेको छ । तर ओली पक्ष भने महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्नु विधिसम्मत हुने अडानमा देखिन्छ ।