१७ असार २०८३, बुधबार

पार्टी सामान्य स्थितिमा छैन, एकतालाई क्षति पुग्ने गतिविधि नगरौं : प्रचण्ड

पार्टी सामान्य स्थितिमा छैन, एकतालाई क्षति पुग्ने गतिविधि नगरौं : प्रचण्ड
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सामान्य स्थितिमा नरहेको भन्दै  एकतालाई क्षति पुग्ने गतिविधि नगर्न आग्रह गरेका छन् ।

उनले पार्टीमा भइरहेको बहस विचार र विधि स्थापित गर्न भइरहेको भन्दै एकतालाई जोगाइराख्न आफूहरूले कसरत गरिरहेको बताए । 

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकताको समयमा भएको सहमतिबाट पछाडि फर्कन खोजेका संकेत देखिएको समेत बताए । 

‘पार्टी एकतामा केही आधार बनायौं, राजनीतिक कार्यदिशाको रूपमा जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र माओवादलाई विकसित र परिमार्जन गर्न भन्दै समाजवादउन्मुख जनताको जनवाद भन्यौं,’ प्रचण्डले भने, ‘अहिले पछाडि फर्कन खोजेका संकेत देखिएका छन् । जनताको बहुदलीय जनवाद जिन्दावाद भनियो भने एकता हुँदैन ।’

जनताको बहुदलीय जनवादलाई निषेध नगरिएको र मदन भण्डारीको योगदानलाई पार्टी एकता गर्दा उच्च मूल्यांकन गरिएको स्मरण गर्दै प्रचण्डले माओवादी जनयुद्धलाई पनि उच्च मूल्यांकन गरिएको नभुल्न आग्रह गरे । 

‘अहिले मैले माओवादी जिन्दावाद भन्न थाले एकतालाई प्रवद्र्धन गरेको ठहरिँदैन, एकअर्काको भावना र संवेदनशीलतालाई सम्बोधन गर्नेतर्फ होइन विपरीत हुन्छ, अहिले जुलुस ननिकालौँ,’ उनले भने । 

प्रचण्डले पार्टी भनेको विचार र विधि तथा पद्धतिको संयोजन रहेको उल्लेख गर्दै जबज बोकेर नहिँड्ने संकेत गरे । 

‘एकताप्रति तपाईंलाई माया छैन भने एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्छ । सामूहिक निर्णयमा विश्वास छैन भने व्यक्तिगत फैसलालाई सर्वोपरि ठान्नु हुन्छ,’ प्रचण्डले भने ।

उनले पार्टीमा भइरहेको बहसले अझ खारिएको पार्टी बन्ने विश्वास गरे ।  

‘हामीले प्रयास गरिरहेका छौं, पार्टी विभाजन हुन दिइने छैन, पार्टीलाई एकताबद्ध राखिने छ । विचार केन्द्रित बनाइने छ । विचार र विधि अझ स्पष्ट हुनेछ । कोही आत्तिनु पर्दैन, अझ खारिएको पार्टी विकास हुनेछ,’ कार्यकर्तालाई सम्झाउँदै प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्