२५ जेठ २०८३, सोमबार

अन्तरिक्षमा युद्ध गर्ने तयारीमा शक्तिराष्ट्रहरू

साउन ११, २०७७
अन्तरिक्षमा युद्ध गर्ने तयारीमा शक्तिराष्ट्रहरू

रुसले अन्तरिक्षमा हतियार जस्तो प्रोजेक्टाइल परीक्षण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । 

अमेरिकाको परराष्ट्र मन्त्रालयले यो ‘इन अर्बिट एन्टी स्याटेलाइट’ हतियार भएको बताउँदै यो चिन्ताजनक रहेको बताएको छ । 

रुसको रक्षा मन्त्रालयले अन्तरिक्षमा उपकरणको परीक्षणका लागि नयाँ प्रविधि उपयोग गरिएको जनाएको छ । आफ्नो परीक्षणलाई अमेरिका र बेलायतले तोडमोड गरेर प्रस्तुत गरेको र उपकरण कुनै हतियार नभएको रुसको भनाइ छ । 

अमेरिकाले यसअघि पनि अन्तरिक्षमा रुसका भूउपग्रहले गरेको गतिविधिका विषयमा प्रश्न उठाइसकेको छ । बेलायतले चाहिँ पहिलोपटक प्रश्न उठाएको हो ।

अमेरिकाको इन्टरनेसनल सेक्युरिटी यान्ड ननप्रोलिफरेसनका उपसचिव क्रिस्टोफर फोर्डले भने, ‘यस्ता किसिमका कार्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगका लागि जोखिमपूर्ण छन् । यसबाट अन्तरिक्षमा फोहर जम्मा हुने खतरा रहन्छ । भूउपग्रह र अन्तरिक्ष प्रणालीमा निर्भर विश्वका लागि यो खतराको घण्टी हो ।’

अमेरिकाको स्पेस कमान्डका प्रमुख जनरल जे रेमन्डले अन्तरिक्षमा रुसले एन्टी स्याटेलाइट हतियार परीक्षण गरेको प्रमाण रहेको बताए । 

संसारका चार देश रुस। अमेरिका, चीन र भारतले मात्र अहिलेसम्म एन्टी स्याटेलाइट क्षेप्यास्त्र प्रविधि बनाउन सकेका छन् । 

विज्ञान मामिलाका विज्ञ पल्लव बागला भन्छन्, ‘देशहरू भूउपग्रहमा निर्भर हुन थालेका छन् । देशहरूको अर्थतन्त्र भूउपग्रहसँग जोडिएको छ । कुनै देशले अर्को देशलाई हानि पुर्‍याउन खोजेमा स्याटेलाइट नष्ट गरिदिने काम गर्न थालेका छन् ।’

रुसको कदमका विषयमा बागला भन्छन्, ‘अमेरिकासँग पूरा स्पेस कमान्ड छ । वायुसेना, स्थलसेना, जलसेना जस्तै उसले अन्तरिक्ष सेना पनि बनाउने तयारी गरेको छ । उसलाई टक्कर दिन रुस पनि केही न केही त अवश्य गर्छ ।’
 

स्याटेलाइट खसाउने क्षमता भएका देशमध्ये कसैले पनि प्रतिस्पर्धी मुलुकको भूउपग्रहमा आक्रमण भने गरेका छैनन् । यसको उपयोग अहिलेसम्म शक्तिप्रदर्शनमा सीमित छ । 

तर भविष्यमा पनि यसको उपयोग गरिने छैन भन्ने ग्यारेन्टी यसले दिँदैन । 

वैज्ञानिक गौहर राजाका अनुसार, कुनै पनि प्रविधिको उपयोग शान्ति र युद्ध दुवैमा हुन सक्छ । 

उनी भन्छन्, ‘अन्तरिक्षको भूमिका महत्त्वपूर्ण हुन गइरहेको छ । विमान बनेपछि त्यसलाई पहिलो र दोस्रो विश्वयुद्धमा उपयोग गरियो ।’

उनी थप्छन्, ‘अब हुने युद्धहरूमा अन्तरिक्षको भूमिका निकै ठूलो हुन्छ किनकि यसको सहायताले अर्को देशलाई पंगु बनाउन सकिन्छ ।’

बीबीसी हिन्दीबाट 
 

salt training

कमेन्ट गर्नुहोस्