
मानव व्यवहार धेरैखाले अन्धविश्वास, पुनरावृत्ति र पुरानै ढर्राबाट सञ्चालित हुन्छ ।

यही कारणले गर्दा मान्छेको दिमाग अनेकौं ट्रिकहरूमा सजिलै फस्छ । तपाईं पनि यी माइन्ड ट्रिक्स जान्नुहुन्छ भने आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
बीबीसी फ्युचरले मानवीय व्यवहारलाई चिन्न अनि मानिसहरूको फैसलालाई प्रभावित पार्न केही आश्चर्यलाग्दा तथ्य जुटाएको छ ।
कसैको काँध हलुका गरी समातेर उसको आँखामा आँखा जुधाउँदै कुरा गर्नुभयो भने उसले खुलेर कुरा गर्न थाल्छ ।
आँखाको पुतली चौडा हुनु भनेको निर्णय लिने समयको अनिश्चितता देखिनु हो । आफ्नो फैसलाप्रति पूर्ण विश्वास छैन भने व्यक्तिको उत्तेजना बढ्छ र आँखाको पुतली विस्तार हुन्छ ।
बगलीमाराहरूले खासगरी जँड्याहाहरूलाई निशाना बनाउनका लागि एउटा उपाय अपनाउँछन् । उनीहरू जँड्याहासँगै बिस्तारै झुम्न थाल्छन् । नशामा रहेको व्यक्तिलाई आफू नै झुमिरहेको छु जस्तो लाग्छ । यही असमञ्जसमा ऊ आफूलाई सिधा राख्न र सम्हालिन कोशिश गर्दागर्दै लड्छ । बगलीमाराले यहीबीचमा आफ्नो काम तमाम गरेर टाप कस्छ ।
टेस्टोस्टेरोन हर्मोनको स्तर बढी हुने व्यक्तिको अनुहार चौडा हुन्छ र गालाको हड्डी अग्लो हुन्छ । यस्ता व्यक्तिहरू धेरै बोल्छन् र कतिपय अवस्थामा त आक्रामक पनि हुन्छन् ।
रातो रंग हाम्रो दिमागभित्र प्रभुत्व र आक्रामकतासँग जोडिएको छ । त्यसैले रातो लुगा लगाउने बक्सरहरूको नीलो लगाउने बक्सरभन्दा पाँच प्रतिशत बढी जीतको सम्भावना हुन्छ ।
सेल्सम्यान हाम्रो दिमाग प्रभावित पार्न खप्पिस हुन्छन् । उनीहरूको एउटा क्लासिक तरिका हुन्छ । जस्तो, उनीहरू शोरूममा चारवटा एस्प्रेसो मशिन राख्छन् र तीनवटाको मूल्य २०० डलर अनि एउटाको मूल्य ४०० डलर बताइदिन्छन् । अनि ग्राहकलाई भनिदिन्छन् ४०० डलर पर्ने मशिनमा खास त्यस्तो गुण केही छैन, २०० डलरवालामा पनि त्यही गुण नै छ । ग्राहकले उसको कुरा पत्याउँछ र सोध्दा पनि सोध्दैन, ‘हैन, यसको मूल्य चाहिँ किन २०० डलर नि ? यसो गर्नु जायज हुन्छ र ?’
हाँस्ने र मुस्कुराउने भावले सामाजिक रूपमा मानिसहरूलाई नजिक्याउँछ र जोड्छ । तपाईं कसैसँग मिलेर हाँस्नुभयो भने उसलाई मन परेको, ऊसँग सहमत रहेको र उसकै समूहमा रहेको दर्शाउँछ । यस्तो व्यक्तिले तपाईंलाई आफ्नो रहस्य पनि बताइदिन्छ । तपाईं कसैको बारेमा केही जान्न चाहनुहुन्छ भने उसको खराब जोकमा पनि हाँसिदिनुस् ।
मासिक धर्म वा रजस्वलाका बेलामा महिलाहरूको आवाज बदलिन्छ र कहिले धेरै, कहिले कम आकर्षक हुन्छ । जीवविज्ञान हाम्रो व्यवहारगत परिवर्तनलाई व्यक्त गर्न सक्छ भन्ने पनि यसले देखाउँछ ।
बीबीसी हिन्दीबाट