
उत्तर कोरियाका नेता किम जोङ उनले सोमवार सैन्य जनरलहरूसँग खिचाएको तस्वीरको चर्चा भएको छ ।
जनरलहरूले पिस्तोल हातमा लिएर ग्यांग्स्टरहरूले झैं तस्वीर खिचाएका हुन् । कोरियाली युद्धविरामको वर्षगाँठका अवसरमा उक्त तस्वीर खिचाइएको हो ।
उता दक्षिण कोरियामा चाहिँ मास्क लगाएका वृद्ध सैनिकहरूले सामाजिक दूरी कायम राख्दै युद्धविरामको वर्षगाँठ मनाएका थिए ।
युद्धविराम भएको ६७ वर्ष बितिसक्दा कोरियाली प्रायद्वीप अझै विभाजित छ र निःशस्त्रीकृत क्षेत्रले लाखौं परिवारलाई छुट्ट्याएको छ ।
प्योङयाङमा किमले जनरल तथा वरिष्ठ अधिकृतहरूलाई स्मरणात्मक पिस्तोल दिएको अनि उनीहरूले किमप्रति बफादारिताको प्रतिज्ञा गरेको सरकारी सञ्चारमाध्यमले लेखेको छ ।
उत्तर कोरियामा कोभिड–१९ संक्रमण देखिएको भनी खबर आएको भए पनि तस्वीरमा कसैले पनि मास्क लगाएको र सामाजिक दूरी कायम गरेको देखिँदैन ।