
नेकपा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टी एकता जोगाउने हो भने स्थायी कमिटीको अलग बैठक बस्न नहुने धारणा राखेका छन् ।
मंगलवार बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेलामा बोल्दै उपाध्यक्ष गौतमले उक्त धारणा व्यक्त गरेका हुन् ।
भेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेताहरू अनुपस्थित थिए ।
‘यसरी अलग भेला गर्नु हुँदैन, यो भेला हो र यसलाई बैठक बदल्नु पनि हुँदैन,’ गौतमको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘पार्टी एकता जोगाउने हो भने मैले आज बिहान दुवै अध्यक्षसमक्ष पेश गरेको प्रस्तावलाई आधार मानेर अघि बढौँ ।’
गौतमले अहिले केपी ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन नहुने स्पष्ट अडान समेत उक्त भेलामा राखेका छन् ।
‘यस्तो भेला गर्नु र ओलीलाई जबरजस्ती अध्यक्ष या प्रधानमन्त्रीबाट हटाउन खोज्नु भनेको पार्टी एकताविरोधी काम हो, त्यसमा मेरो सहमति छैन,’ गौतमले भनेका थिए ।
गौतमले पार्टी एकता कसका कारण खतरामा पर्यो भन्दै प्रश्न समेत गरे । दुई अध्यक्षबीचको पदको लडाईंमा आफू बीचमा नपर्ने उनको भनाइ थियो ।
आफ्नो धारणा राखेर गौतम भेलाबाट बाहिरिए ।
बिहान गौतमले पार्टीको विग्रह रोक्नका लागि भन्दै ६ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरेका थिए ।
सचिवालय र संसदीय दलमा ओलीको बहुमत
यसैबीच पार्टीका प्रभावशाली नेता गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेर ओलीको पक्षमा आफूलाई उभ्याएपछि नेकपाको सर्वोच्च निकाय सचिवालयमा पार्टी अध्यक्ष ओलीको स्पष्ट बहुमत देखिएको छ ।
गौतमसँगै नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले ओलीलाई साथ दिएका छन् ।
९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा उनीसहित ५ जना र प्रचण्डको पक्षमा ४ जना हुन पुगेको छ । स्रोतका अनुसार संसदीय दलमा पनि ओलीको पक्षमा बहुमत छ ।
‘सचिवालय र संसदीय दलमा ओलीको स्पष्ट बहुमत पुगेको छ, स्थायी कमिटीमा कस्तो समीकरण बन्छ एकदुई दिनमा स्पष्ट हुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
प्रचण्ड–नेपाल भेलामा पूर्व माओवादी समूहका प्रभावशाली नेता अनुपस्थित
मंगलवार बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको भेलामा पूर्व माओवादी खेमाका केही प्रभावशाली नेता नै अनुपस्थित रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार उक्त भेलामा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, उद्योग मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य लेखराज भट्ट र मणि थापालगायत अनुपस्थित थिए ।
पढ्नुहोस्, यो पनि :
सहमतिका लागि वामदेवको ६ बुँदे प्रस्ताव: ५ वर्ष ओली नै प्रधानमन्त्री, अध्यक्ष महाधिवेशनसम्म