१६ असार २०८३, मंगलबार

लोकान्तरकर्मी थापा संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सर्वसम्मत

लोकान्तरकर्मी थापा संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सर्वसम्मत

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको पहिलो साधारण सभाले संस्थाका संस्थापक सचिव स्व. डिलप्रसाद शर्माको नाममा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा बसेको साधारण सभाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्न २ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको संस्थाका सचिव सिताकुमारी वलीले जानकारी दिइन् ।

‘२०७६ कात्तिक २८ गते बोनम्यारो रोगबाट मृत्युवरण गर्न पुगेका संस्थापक सचिवज्यूको सम्झनामा संसदीय बिटमा पत्रकारिता गर्ने २ जनालाई पुरस्कार वितरण गर्ने योजनाका साथ हामीले यो अक्षय कोष स्थापना गर्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘त्यसका लागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न, अक्षय कोष स्थापना गर्न, सञ्चालन गर्न र व्यवस्थापन गर्न उपाध्यक्ष देवबहादुर रानाको संयोजकत्वमा एक समिति निर्माण गरेका छौं ।’

उनका अनुसार बैठकले साधारण सभामार्फत समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा शेरबहादुर थापालाई निरन्तरता दिइएको छ भने उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिताकुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध चयन भएका छन् । अध्यक्ष थापा लोकान्तर डट्कमका लागि कर्णाली प्रदेश प्रतिनिधि हुन् ।

सभामुख शाहीद्वारा बधाई

नवनिर्वाचित समितिलाई कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बधाई दिएका छन् । ‘कर्णालीको इतिहासमा संसदीय व्यवस्था नितान्त नौलो हो । यो व्यवस्थालाई बलियो बनाउन र जनताको सर्वाेच्चता कायम गराउन यो समाज सफल हुने विश्वास व्यक्त गर्दछु,’ सभामुख शाहीले भने, ‘विगतभन्दा यो संस्था बलियो बनेको देख्दा खुशी लागेको छ । संस्थालाई बलियो बनाउन प्रदेश सभाको तर्फबाट सहयोग गर्न हामी तयार छौं ।’

स्वतन्त्र भएर व्यवस्थाको पक्षमा कलम चलाउन संसदीय मामिला पत्रकार समाजका सदस्यहरू सफल हुनेमा प्रदेशसभा विश्वस्त रहेको उनले बताए ।

संस्थाका अध्यक्ष थापाले कर्णालीको संसदीय पत्रकारिताका एक अब्बल पत्रकार शर्मालाई गुमाउँदा अपुरणीय क्षति पुगेको बताउँदै संसदीय पत्रकारितालाई बिट पत्रकारिताका रुपमा विकास गर्न अक्षय कोष स्थापना गर्न लागिएको बताए । ‘हामीलाई कर्णालीका सरकारी, गैरसरकारी र निजी क्षेत्रले अक्षय कोष स्थापना गर्नको लागि सहयोग गर्नुहुने विश्वास छ,’ उनले भने, ‘यसका लागि आवश्यक आर्थिक सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्