यमन सरकार र सदर्न ट्रान्जिसनल काउन्सिलले रियाद सहमति कार्यान्वयनका विषयमा मंगलवार साउदी अरबले प्रस्ताव गरेको संयन्त्रमा सहमति जनाएका छन् ।
सन् २०१९ को नोभेम्बर ५ मा यमन सरकार र सदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) बीच रियादमा मेलमिलाप सहमति बनेको थियो । एसटीसीले यमनको दक्षिणी भागमा रहेको पाँचवटा गभर्नोरेटमा कब्जा गरेको छ ।
सरकार र एसटीसीबीचको भिडन्तका कारण यमनमा मानवीय संकट आएको थियो । जुन महिनाको अन्त्यतिर उनीहरूबीच युद्धविराम गर्ने सहमति बनेको थियो ।
दुई पक्षले ३० दिनभित्र अदनमा नयाँ संयुक्त मन्त्रिपरिषद् गठन गर्ने सहमति गरेका छन् । यससँगै उनीहरूले राजधानी सनाबाट सैनिक पनि हटाएका छन् । साउदीको परराष्ट्र मन्त्रालय र सरकारी सञ्चारमाध्यमले जारी गरेको प्रेस वक्तव्यमा यसको जानकारी दिइएको छ ।
साउदीले मंगलवार अबेर राति प्रस्ताव गरेको समाधानमा यमनको दक्षिणमा एसटीसीले घोषणा गरेको स्वायत्ततालाई खारेज गर्ने, सैन्य तथा सुरक्षा बलहरूलाई पुनर्गठन गर्ने र यमनको सुरक्षाका लागि साउदी नेतृत्वको गठबन्धन अन्तर्गत एकता प्रयासलाई गति दिने लगायत छन् ।
बुधवार सखारै एसटीसीले दक्षिणी भागमा स्वायत्त प्रशासनलाई त्यागेको घोषणा गरेको छ । देशको सुरक्षा तथा स्थिरताका लागि यो निर्णय लिइएको उसको भनाइ छ ।