कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पीसीआर मशिन जिल्ला अस्पताल डोटीमा आज ल्याइएको छ ।
दुईवटा ट्रकमा मशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
उक्त पीसीआर मशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्ने क्षमता रहेको कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जनाकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले गत चैतमै कञ्चनपुर, बैतडी र डोटीमा पीसीआर परीक्षण शुरू गर्ने र त्यसका लागि पीसीआर मशिन खरिद गर्ने निर्णय गरेअनुसार उक्त मशिन खरिद गरी जिल्ला अस्पताल आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।
जिल्लामा अहिले कूल ५८३ जना कोरोना सङ्क्रमित छन् । पीसीआर मशिन राख्ने प्रयोगशाला पनि निर्माण कार्य सम्पन्न भएकाले यही साउन २० गतेदेखि परीक्षण कार्य शुरु गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको कुल रु ४० लाखको लागानीमा उक्त मशिन डोटी आइपुगेको उनले जानकारी दिए ।
यसअघि जिल्लामा कोरोना परीक्षण गर्ने मशिन नभएका कारण कैलालीको धनगढी, डडेल्धुरामा रहेको प्रयोगशाला तथा काठमाडौँस्थित टेकु अस्पतालमा रहेका प्रयोगशालामा स्वाब पठाउने गरिएको थियो । रासस