
बेल्जियममा एक महिलाले कुखुरोले जस्तो मुखैले भुइँबाट दाना टिपेको पाइएको छ । उनलाई मानसिक रोग भएको हुन सक्ने मनोविद्हरूको धारणा छ ।
ती ५४ वर्षीया विवाहित महिलाको नाम उजागर गरिएको छैन । उनी औषधि पसलमा काम गर्छिन् र उनले लागूऔषध सेवन गर्ने गरेको इतिहास छैन ।
उनका भाइले उनलाई गाला च्यापेर कुखुरोले जस्तो आवाज निकालेको र भुइँबाट दाना टिपेको अवस्थामा भेटे । त्यसपछि उनले दिदीलाई अस्पताल लगेका थिए ।
उनले चिकित्सकहरूलाई आफू कुखुरो भएको बताइन् र गोडामा झमझम भएको जानकारी दिइन् ।
पछि उनी अचानक स्तब्ध भइन् र सामान्य अवस्थामा फर्किन् ।
उनलाई कुखुरो बन्दाको कुनै पनि स्मृति रहेन अनि परिवारले पछि बताउँदा उनले लाज मानिन् ।
उनी परिवारका एक सदस्यको मृत्युपछि अवसादबाट पीडित थिइन् ।
यस्तो अवस्थालाई मनोविज्ञानको भाषामा जोयान्थ्रोपी भनिन्छ । केयू लेउभेन विश्वविद्यालयका अनुसन्धाताहरूले तिजस्रिफ्ट फूर साइकियाट्री मेडिकल जर्नलमा यसका बारेमा लेखेका छन् ।
यस्ता रोगीको सोचलाई व्याख्या गर्न गाह्रो हुने वैज्ञानिकहरूले बताए ।