
पार्टी भित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न अविलम्ब बेन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक चौथाई सदस्यले पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधर १ सय ५२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका हुन् ।
पार्टी अध्यक्ष र महासचिवलाई सम्वोधन गर्दै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दर्ता गराइएको केन्द्रीय सदस्य निरज आचार्यले लोकान्तरलाई जानकारी दिए । स्रोतका अनुसार १ सय ५२ सदस्यले हस्ताक्षर गरेका छन् ।
स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै केन्द्रीय सदस्य डा. वियज पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री लगायतको नेतृत्वमा केन्द्रीय सदस्यहरुले हस्ताक्षर अभियान संचालन गरेका थिए ।
नेकपाको अन्तरिम विधान २०७५ को दफा ५९ को उपदफा ४ मा एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने व्यवस्था छ । पार्टी एकता भएपछि गत माघ महिनामा पहिलोपटक नेकपाको केन्द्रीय कमिटीको बैठक बसेको थियो ।
केन्द्रीय कमिटी बोलाउनका लागि नेकपाका तत्काल कायम रहेका ४ सय ४४ जना केन्द्रीय सदस्यको एक चौथाइ अर्थात १ सय १२ जनाको हस्ताक्षर आवश्यक हुन्छ ।
असार १० गते शुरु भएर पटक-पटक स्थगित स्थायी कमिटी बैठकले निकास दिन नसकेकोले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णयमा पुगेको केन्द्रीय सदस्य चूडामणि जंगली विश्वकर्माले जानकारी दिए । स्थायी कमिटी बैठक अनिर्णित बनेको समयमा उनीहरुले जूम बैठक गरेर केन्द्रीय समिति बैठक बोलाउने माहौल तयार गरेका थिए ।
मंगलवारसम्म आइपुग्दा स्थायी कमिटी बैठकले निकास दिने लक्षण नदेखिएपछि हस्ताक्षर बुझाइएको अर्का एक केन्द्रीय सदस्यले बताए ।