
नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा सभापति शेरबहादुर देउवाले धमाधम मनोनयन थालेका छन्।
केही दिन अघि केन्द्रीय महिला विभागमा पदाधिकारी मनोनयन गरेका देउवाले बुधबार पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा पदाधिकारीलाई मनोनयन गरेका हुन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीका विभागमा भएका मनोनयन विधानविपरित भएको बताइरहेका बेला देउवाले यो कदम चालेका हुन्।
सभापति देउवाले पूर्व सभामुखहरू दमननाथ ढुंगाना र तारानाथ रानाभाटसहित ४ सय ७९ जनालाई समेटेर जेष्ठ सभालाई पूर्णता दिएका हुन्।
पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिइएको दाबी गरिएको छ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको छ।






