०५ असार २०८३, शुक्रबार

हिजो दिनभर : केन्द्रीय कमिटी बैठक बोलाउन नेकपाका १५२ केन्द्रीय सदस्यले दिए निवेदन, कांग्रेस सभापतिको दावेदार रहने कोइरालाको घोषणा

हिजो दिनभर : केन्द्रीय कमिटी बैठक बोलाउन नेकपाका १५२ केन्द्रीय सदस्यले दिए निवेदन, कांग्रेस सभापतिको दावेदार रहने कोइरालाको घोषणा

केन्द्रीय सदस्यहरू खुमलटारमा, केन्द्रीय कमिटी बोलाउने प्रचण्डको आश्वासन

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय कमिटी बैठक बोलाउने आश्वासन  दिएका छन्।

केन्द्रीय कमिटी बैठक माग गर्ने १ सय ५२ मध्ये केही केन्द्रीय  सदस्य प्रचण्डलाई भेट्न बुधबार साँझ खुमलटार पुगेका थिए।

भेटमा प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेर बैठक  बोलाइने बताएका हुन्।

१ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बोलाउन माग गर्दै बुधबार पार्टी कार्यालयमा हस्ताक्षरसहितको पत्र दर्ता गराएका थिए।


केन्द्रीय कमिटी बैठक बोलाउन नेकपाका १ सय ५२ केन्द्रीय सदस्यले दिए निवेदन
सत्तासीन नेकपाका १ सय ५२ केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर १ सय ५२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित बुधबार निवेदन दर्ता गराएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका हुन्।

पार्टी अध्यक्ष र महासचिवलाई सम्वोधन गर्दै पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा दर्ता गराइएको केन्द्रीय सदस्य निरज आचार्यले लोकान्तरलाई जानकारी दिए ।

नेकपाको अन्तरिम विधान २०७५ को दफा ५९ को उपदफा ४ मा एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने व्यवस्था छ । पार्टी एकता भएपछि गत माघ महिनामा पहिलोपटक नेकपाको केन्द्रीय कमिटीको बैठक बसेको थियो ।

महाधिवेशनमा कांग्रेस सभापतिको दावेदार रहने कोइरालाको घोषणा

नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा महामन्त्री शशांक कोइरालाले सभापतिको दावेदार भएको बताएका छन्।

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको छ। अहिले नेताहरू महाधिवेशनको जोडघटाउमा छन्।

सोही क्रममा बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको भेला पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘जसले सबैलाई एकैठाउँमा ल्याउनसक्छ, त्यसैले सभापति जित्ने’ बताए।

सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफूले राख्ने उल्लेख गर्दै उनले  स्वभाविक रुपमा सभापतिको दाबी रहने र चुनाव पनि जित्ने बताएका हुन्।


महाधिवेशन नजिकिदै जाँदा देउवाले फेरि गरे मनोनयन, जेष्ठ सभामा ४७९ जना अटाए

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा सभापति शेरबहादुर देउवाले धमाधम मनोनयन थालेका छन्।

केही दिन अघि केन्द्रीय महिला विभागमा पदाधिकारी मनोनयन गरेका देउवाले बुधबार पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा पदाधिकारीलाई मनोनयन गरेका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पार्टीका विभागमा भएका मनोनयन विधानविपरित भएको बताइरहेका बेला देउवाले यो कदम चालेका हुन्।

 सभापति देउवाले पूर्व सभामुखहरू दमननाथ ढुंगाना र तारानाथ रानाभाटसहित ४ सय ७९ जनालाई समेटेर जेष्ठ सभालाई पूर्णता दिएका हुन्।

 पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभालाई पूर्णता दिइएको दाबी गरिएको छ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको छ।

कोरोना परीक्षणका लागि सिंहदरबारबाट ५०८ को स्वाब संकलन

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब संकलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ। 

नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो। विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो। 

उक्त उपकरणबाट बुधबार सिंहदरबार परिसरमा  महान्यायाधिवक्तासहित ५ सय ८ जनाको स्वाब संकलन गरिएको थियो।

सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिनृ जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ। दैनिकरुपमा ५ सयदेखि ७ सयजनासम्मले सजिलै स्वाव सङ्कलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ। 

चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब सङ्कलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पिपिइर्, ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ।

यस भ्यानमा स्वाब सङ्कलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए। 

स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पिपिई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ। भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा तीन स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध हुनेछ। यो भ्यानको प्रयोगबाट पिपिईमा लाग्दै आएको ठूलो रकम बचत हुने बताइन्छ।

राष्ट्रिय गौरवका आयोजनालाई बजेटकाे कमी हुन नदिने अर्थमन्त्रीको उद्घोष

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ ले समग्र अर्थतन्त्रमा प्रभाव पारेको अवस्थामा पनि राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका क्रममा रकमान्तर गरेर पनि समस्या आउन नदिने बताएका छन्।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री खतिवडाले अरु शीर्षकमा रहेका खर्च रकमान्तर गरेर र दातृ निकायबाट पनि परिपूर्ति गरेर यी आयोजनामा बजेट कमी हुन नदिइने बताए। राष्ट्रिय गौरवका आयोजनामा छुट्टै कानून बनाएपछि त्यसले आयोजना कार्यान्वयनमा केही सहज हुने उनको भनाइ थियो। 

व्यावसायिक सम्भाव्यता रहेका आयोजनालाई सार्वजनिक निजी साझेदारी मोडलमा अघि बढाउन सकिने उनले बताए। कतिपय निकायले आफूले काम गर्दा अरुलाई असर पर्छ कि भनी ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘सडक, विद्युत्, खानेपानीले एउटाले निर्माण गर्दा अर्कोलाई असर पुर्‍याएको पाइन्छ।’

राष्ट्रिय गौरवका आयोजनामा रहेका अन्तरनिकाय समन्वय, निर्माण सामग्रीको सहज उपलब्ध नहुनु लगायतका समस्या समाधान गरिने मन्त्री खतिवडाको भनाइ थियो। वातावरण र विकासबीच पनि सन्तुलन मिलाउनुपर्ने उनले औँल्याए।

कतिपय आयोजना डिजाइन हुँदाको समयभन्दा अहिलेको आवश्यकता फरक हुनसक्ने उनले औँल्याए। उनले भने, ‘हुलाकी राजमार्ग निर्माण शुरु हुँदा कृषि सडकका रुपमा एक लेन बन्न थाले पनि अहिले दुई लेन बन्नुपर्ने आवश्यकता छ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ भएको र गुणस्तरका विषयमा प्रश्न उठ्ने गरेको बताए । बबई सिँचाइ योजना र रानीजमरा कुलरिया सिँचाइ आयोजना कहिलेसम्म सम्पन्न गर्ने भनी धारणा बनाउनुपर्ने उनले बताए ।

उनका अनुसार कतिपय परियोजनामा बढी बजेट माग गर्ने तर खर्च गर्न नसक्ने समस्या देखिएको छ ।

कतिपय सिँचाइ आयोजना निर्माण सम्पन्न हुँदासम्म खेतीयोग्य जमिनभन्दा घर बढी हुने देखिएको उनले बताए ।

कतिपय आयोजनामा सम्भावित समस्याको पहिले पहिचान गर्न नसक्दा आयोजना कार्यान्वयनका क्रममा समस्या देखिएको उनको भनाइ थियो ।

उनले भने, 'पहिले सानो जस्तो देखिए पनि त्यसैले कार्यान्वयनमा समस्याका रुपमा हुने गरेको छ ।'

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्रमा भूकम्पपछि भत्किएका कतिपय स्मारकको पुनःनिर्माण भइरहेको बताए ।

लुम्बिनीको गुरुयोजना सम्पन्न हुने क्रममा रहेकाले नयाँ योजनामा गइने उनको भनाइ थियो । उनले भने, 'यो गुरुयोजना सकिएपछि बृहत्तर गुरुयोजनामा गइनेछ ।'

भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले राष्ट्रिय गौरवका सडकमा ‘एलाइमेन्ट’ को समस्या रहेको बताए ।

मध्यपहाडी राजमार्गमा जग्गाप्राप्ति गर्न नसकिएर सडकको अधिकार क्षेत्रको समस्या रहेको उनले बताए ।

कतिपय स्थानमा सडकमा जलाशययुक्त आयोजनाका कारण अन्योलमा रहेको उनको भनाइ थियो ।

उनले भने, 'निर्माण हुन २०÷२५ वर्ष लाग्ने भए त्यति समयसम्म लगानी उठिसक्छ ।'

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको र बूढीगण्डकी जलविद्युत् आयोजनामा जग्गा अधिग्रहणको काम भइरहेको जानकारी दिए ।

माथिल्लो तामाकोशीमा कतिपय कामका लागि चीन र भारतबाट जनशक्ति ल्याउनपर्ने भए पनि अहिलेको अवस्थामा नसकिएको बताए ।

उनले भने, 'अन्तरराष्ट्रिय उडान खुल्नासाथ उनीहरुलाई ल्याएर काम अघि बढाइनेछ ।'

जलस्रोत तथा सिँचाइ सचिव रविन्द्रनाथ श्रेष्ठले सिँचाइका पाँच आयोजनाको काम अघि बढिरहेको बताए ।

आयोजनास्थलमा रुख कटानलगायतका समस्या आउने गरेको उनको भनाइ छ ।

समितिका सदस्य जीवन बुढा, दीपा गुरुङ, रामचन्द्र राई, कोमल वली, अनिता देवकोटा लगायतले राष्ट्रिय गौरवका आयोजना निर्माण कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताए ।

सङ्घीय सरकारले साना बजेटका कार्यक्रम छर्ने भन्दा रणनीतिक योजनामा ध्यान पुर्‍याउनुपर्नेमा उनीहरूले जोड दिए ।  

सेमेष्टरको परीक्षा भदौ तेस्रो साता र वार्षिक परीक्षा असोज पहिलो सातादेखि गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरू गर्ने तयारी थालेको छ ।

बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरू गर्ने गरी तयारी थालिएको बताए ।

“भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उनले भने, “अनि त्यसपछि हामी सेमेस्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरू गर्ने तयारी गरेको छौं ।” 

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ ।

यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिनेछ ।

त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेस्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो ।

स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेस्टर प्रणालीका परीक्षा रोकिएका छन् ।

वार्षिक परीक्षाअन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ । 

यसअघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौं र सातौं सेमेस्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी सहित कार्यालयका सहायक डिन प्राडा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसकेका छन् । रासस

पछिल्लो २४ घण्टामा २ सय १० मा कोरोना संक्रमण, १ सय ४६ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय १० मा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २ सय १० मा नयाँ संक्रमण भेटिएको जानकारी दिए ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ६० रहेको छ ।

कोरोनालाई जितेर पछिल्लो २४ घण्टामा १ सय ४६ डिस्चार्ज भइसकेका छन् ।

हालसम्म निको भएर घर फर्कनेको संख्या १४ हजार २१ रहेको छ ।

काठमाडौंमै पहिराको जोखिम, तीन घर स्थानान्तरण गरियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । 

केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

पछिल्लो समय बाढीपहिरोका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । 

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पुर्‍याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए ।

पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्