
मंगलवार नेपाल प्रहरी हेडक्वार्टर नक्सालमा २३ जना प्रहरी कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।
अघिल्लो दिन (सोमबार) त्यहीँ ४ जनामा संक्रमण पुष्टि भएको थियो । हेडक्वार्टरमा कोरोना देखिएका प्रहरीमा ग्यारेजमा काम गर्ने, मेसमा काम गर्नेदेखि ड्राइभरसम्म छन् ।
मंगलवार नै भक्तपुरको दुवाकोटका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीको भनाइलाई आधार मान्ने हो भने ती युवाको ‘ट्राभल हिस्ट्री’ देखिँदैन ।
काठमाडौं उपत्यकामा मंगलवार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, तीमध्ये अधिकांश ट्राभल हिस्ट्री नभएकाहरू छन् ।
संक्रमण पुष्टि भएका ५३ मध्ये २ जना विदेशी नागरिक छन् ।
२०७६ चैत ११ गते लकडाउन घोषणा भएपछि नेपालमा फसेका २ जना चिनियाँ महिलामध्ये एकजना ठमेलको एक होटलमा बस्दै आएकी थिइन् ।
अर्की चिनियाँ महिला भने बौद्धमा बस्दै आएका थिइन् । उनीहरूलाई संक्रमण देखिएको छ, तर उपत्यकाबाहिर गएको हिस्ट्री छैन ।
उपत्यकामा भेटिएका कोरोना संक्रमित हस्पिटल, होटल, होस्टेलदेखि व्यापारिक केन्द्रसम्मका छन् ।
बैतडी स्थायी घर भएका ३८ वर्षीय पुरुष कीर्तिपुरमा बस्थे, उनमा संक्रमण पुष्टि भएको छ । बालाजुस्थित गेस्ट हाउसमा बस्ने अर्का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
धादिङ धुनिबेसीकी ३ वर्षीया बालिकामा कान्ती बाल अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भयो ।
विराटनगरका ६० वर्षीय पुरुषमा टिचिङ अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भएको छ ।
व्यापारिक केन्द्र भोटेबहालमा ३२ वर्षीय भारतीय नागरिक र बिजुली बजारमा ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसरी हेर्ने हो भने उपत्यकाका घरदेखि होटल, गेस्टहाउस, अस्पताल, व्यापारिक केन्द्र हरेक तिर कोरोना संक्रमित भेटिन थालेका छन् ।
तर, सरकारको दाबी भने कोरोना समुदायमा फैलिएको छैन भन्ने छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम कोरोना संक्रमण समुदायमा नफैलिएको र नियन्त्रणमै रहेकोे दाबी गर्छन् ।
‘अहिलेसम्म देखिएका कोरोना संक्रमित सबै कन्ट्र्याक टे«सिङमा देखिएका हुन्,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने, ‘यसलाई समुदायमा फैलिएको भन्न मिल्दैन र अहिलेसम्म कोरोना नियन्त्रणमा नै छ ।’
प्रवक्ता गौतमले मानिसहरूले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, नियमित हात धुने, सामाजिक दुरी कायम गर्ने गरेमा कोरोना नसर्ने रटान लगाउँदै आएका छन्, तर लकडाउन खुलेको अवस्था उनले भनेको जस्तो सामाजिक दुरी कायम भएको देखिँदैन ।
उपत्यकाको मुख्य व्यापारिक केन्द्र महाबौद्धमा व्यापारीहरूमा कोरोना देखिइसकेको छ । उपत्यकाबाहिर पनि कोरोना भाइरसको संक्रमण पनि तीव्ररूपमा फैलिएको छ ।
वीरगञ्ज, विराटनगर, राजविराज लगायतका क्षेत्रमा निषेधाज्ञा नै जारी भएको छ ।
कोरोना तीव्र गतिमा फैलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने सरकारले कोरोना नियन्त्रणमा सफलता हासिल गरेको दाबी गर्दै सरकारको काम नदेख्नेलाई ‘मोतियाबिन्दु’ लागेको भनी सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सवमा मन्त्री ढकालले भनेका थिए–
सीमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका स्वदेश र विदेशमा बस्ने नेपालीले पनि देख्न सक्छन् । यो सकारात्मक पक्ष नदेख्नेमा कतै मोतियाबिन्दु पो लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।
तर कोरोना फैलिने क्रम नरोकिनु, स्वास्थ्य सामग्री खरिदमा पनि अनियमितता देखिनु आदि कारणले सरकार आलोचनामुक्त हुन सकेको छैन । पछिल्लो सयमा नेपाली सेनाले ल्याएको रिएजेन्ट कीट पनि काम नलाग्ने अवस्थामा थन्किएर बसेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने देशभरमा ९ सय भेन्टिलेटर छन् । आईसीयूमा कोरोनाका बिरामी राख्न सक्ने क्षमता १ हजार ७ सय २ मात्र छ ।
आइसोलेसन बेडको संख्या ६ हजार ६ सय ७१ छ भने २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टीन बेडहरू रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले लोकान्तर जानकारी दिए ।
अधिकांश क्वारेन्टीन सामुदायिक विद्यालयमा बनाइएकाले ती पनि अहिले खाली गरिँदै गरेको अवस्था छ ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिएर बढीभन्दा बढी भेन्टिलेटर चाहिने अवस्था आयो भने त्यसको तयारीमा सरकार रहेको देखिँदैन ।
सरकारलाई अल्पज्ञानको ‘मोतियाबिन्दु’ !
स्वास्थ्य मन्त्री ढकालले सरकारको काम नदेख्ने जनतालाई मोतियाबिन्दु लागेको भनेपनि विज्ञहरू भने सरकारलाई नै अल्पज्ञान र मोतियाबिन्दु लागेको बताउँछन् ।
कोरोना परीक्षणको दायरा फराकिलो पारेर नियन्त्रण गर्नु त कता हो कता परीक्षण नै घटाएर कोरोना कम भयो भन्ने सरकारमा नै अल्पज्ञान र मोतियाबिन्दु देखिने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए ।
लकडाउन खुलेपछि संक्रमितहरू नै एक ठाउँबाट अर्को ठाउँमा पुग्ने परिस्थिति सिर्जना भएका बेला त्यसलाई व्यवस्थित गर्न नसक्नु र उचित मापदण्ड तथा निर्देशिका बनाएर परीक्षणको दायरा नबढाउनुले सरकारको अल्पज्ञान पुष्टि हुने उनको भनाइ छ ।
पाण्डेका अनुसार यसरी अन्धाधुन्ध सवारी साधनहरू चल्न दिनु, नियमन नहुनु आदि कारणले आगामी दिनमा संक्रमण अझै फैलिने जोखिम छ ।
मन्त्री तथा उच्चपदस्थ अधिकारीहरूले सार्वजनिकरूपमा नै कोरोना संक्रमणलाई बेवास्ता गर्दा आगामी दिनमा प्रहरी हेडक्वार्टर जस्तै मन्त्रालयहरूमा पनि कोरोनाको जोखिम रहेको विज्ञ पाण्डेले बताए ।
जोखिममा रहेका समुदायमा परीक्षण शून्य !
सरकारले केही स्थानमा मात्र कोरोना परीक्षण गरेको छ । उच्च जोखिममा रहेका सडक बालबालिका, मजदुर, तरकारी तथा फलफूल बिक्री गर्ने पसल, किराना पसल, वृद्धाश्रम आदिमा कोरोना परीक्षण गर्नुपर्ने पाण्डेले बताए ।

सरकारले उपत्यकामा ४५ हजार जनामा कोरोना परीक्षण गर्ने घोषणा गर्यो । त्यसक्रममा कालिमाटी तरकारी बजार, केही अस्पतालहरू र पहुँचवालाका सपिङ महलमा मात्र परीक्षण सीमित भयो । खास परीक्षण गर्नुपर्ने ठाउँमा परीक्षण नगर्दा कोरोना महामारी भयावह हुनसक्ने अवस्था देखिएको डा. पाण्डेको भनाइ छ ।
जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित पनि सरकारले परीक्षण घटाएर संक्रमण घटेको देखाउन खोजेको टिप्पणी गर्छन् ।
सरकारले जति मात्रामा कोरोना परीक्षण गर्नुपर्ने थियो, त्यति मात्रामा नगरेर सीमित गर्दै लानुले कोरोनालाई फैलिन मद्दत पुगिरहेको डा. दीक्षितले बताए ।
‘समुदायमा जाँचै नगरी कोरोना संक्रमण घट्यो भन्न त मिलेन नि !’ डा. दीक्षितले लोकान्तरसँग भने ।