
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अनुसन्धानमा मुद्दा खेपेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्टले सीताले दिएको अग्निपरीक्षाभन्दा पनि कडा परीक्षा पासको गरेको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अदालत कञ्चनपुरबाट प्रमाण नष्ट र यातना अभियोगको मुद्दामा सफाइ पाएपछि लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै एसपी विष्टले सीता लंकाबाट फर्केर दिएको अग्निपरीक्षाभन्दा पनि कठोर परीक्षा पास गरेको प्रतिक्रिया दिए ।
‘सबैको आँखा परेको निर्मला हत्या प्रकरणमा न्यायको जीत भएको छ । यसले म निकै खुशी छु,’ एसपी विष्टले लोकान्तसँग भने ।
जिल्ला न्यायाधीश गोपाल बास्तोलाको इजलासले बिहीवार अनुसन्धानमा संलग्न ८ जना प्रहरी अधिकारीलाई सफाइ दिएको छ । २ वर्षअघि भएको घटनाको अनुसन्धानमा निलम्बनमा परेर सफाइ पाएका अन्यले पनि न्याय मिलेको प्रतिक्रिया दिएका छन् ।
तत्कालीन एसपी विष्टलाई सरकारले कारवाही गर्दै प्रहरी सेवाबाट हटाएको थियो ।