
निर्मला प्रकरणमा प्रमाण नष्ट र यातना मुद्दा लागेका प्रहरीलाई अदालतबाट सफाइ
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा लागेका प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको छ ।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सबै आरोपीलाई सफाइ दिएको श्रेस्तेदार यदुराज शर्मा लोकान्तरलाई जानकारी दिए ।
निर्मलाकी आमा दूर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले प्रहरीहरूविरुद्ध मुद्दा चलाएको थियो ।
मुद्दामा घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई विपक्षी बनाइएको थियो ।
साँझ ७ देखि बिहान ७ सम्म काठमाडौं उपत्यका प्रवेशमा राेक
गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको छ।
काठमाडौं उपत्यका प्रवेश गरेकाहरुकाे स्वाब परीक्षण गर्दा केहीमा कोरोना संक्रमण देखिएपछि गृहले बिहीबार सूचना जारी गरेर अर्काे आदेश नहुन्जेलसम्मका लागि अत्याआवश्यक सेवा र ढुवानीका साधन बाहेक बिहीबार देखि हरेक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावतमा पनि रोक लगाएको जनाएको छ।अब रातिको समयमा नाकामा यात्रुको आवागमन हुन दिइने छैन।
त्यसैगरी काठमाडाैं उपत्यका बाहेकका जिल्लामा अतिआवश्यक बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएकाे छ। र, बिना पास अन्तरजिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न पनि भनिएकाे छ।
सुन प्रकरणमा मुछिएका डीएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो
सुन प्रकरणमा मुछिएपछि काठमाडौँ दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाल जिम्मेवारीमुक्त भएका छन् ।
घटनास्थल परिवर्तनलगायतका शंकास्पद काम गरेको भन्दै छानबिनका लागि दाहाललाई जिम्मेवारीबाट मुक्त गरिएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । उनको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलवारको पत्रकार सम्मेलनमा बा६च ५५१९ नम्बरको स्कोर्पियो प्रहरी चेकिङ हुँदा झोला फालेर भागेको बताएका थिए ।
पत्रकार समेलनमा डीएसपी दाहालले स्वयं उपस्थित भएर कमलादीबाट आधा किलोग्राम सुन र र साढे १४ किलो सुनको जलप लगाएको चाँदी फेला परेको बताएका थिए ।
तर अनुसन्धानका क्रममा दाहालको गतिविधि शंकास्पद देखिएको थियो ।
निजी अस्पतालमा पनि कोरोना उपचार, पिसिआर शुल्क कति?
सरकारले कोभिड-१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन्। सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि मुलुकभर २५ वटा अस्पताललाई कोभिड–१९ को उपचार गर्न अनुमति दिएको थियो।
यसरी उपचार गर्दा सामान्य लक्षण भएका सङ्क्रमितसँग प्रतिदिन तीन हजार ५ सय, मध्यम खालको अवस्था भए प्रतिदिन सात हजार रुपियाँ र जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि १५ हजार रुपैयाँ शुल्क लिने गरी उपचार गर्ने व्यवस्था गरेको छ।
यसैगरी कोरोना उपचारका लागि सूचीकृत नभएका अस्पताल शंकास्पद बिरामीको पिसीआर जाँच गर्नुपर्ने अवस्था भएमा तोकिएको शुल्कमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिन पाउने निर्णय गरेको उनले जानकारी दिए।
मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षणका लागि न्यूनतम शुल्क पाँच हजार पाँच सय तोकिएको छ। जसअनुसार सूचीकृत नभएका निजी अस्पतालले ६ हजार ५० भन्दा बढी लिन पाउने छैनन्। यसरी सङ्कलित गरिएको नमूना निजी अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सूचीकृत गरिएका अस्पताल वा प्रयोगशालामा मात्र परीक्षणका लागि पठाइने छ।
जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड–१९ परीक्षणका लागि सूचीकृत गरिएका प्रयोगशालालाई स्वीकृत निर्देशिकाअनुसार सशुल्क दिने व्यवस्था गरेको छ।
यसैगरी परीक्षण गरिएको व्यक्तिको नतिजा तथा व्यक्तिगत विवरण व्यवस्थापन गर्नुपूर्व नै सार्वजनिक भएर सर्वसाधरणमा त्रास र रोग सार्ने सम्भावना हुने तथा सम्बन्धित सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआउनेजस्ता समस्या देखिएकोले कुनै पनि प्रयोगशालालाई विवरण सार्वजनिक नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले व्यक्तिको विवरण सार्वजनिक गर्ने प्रयोगशालाको कोभिड–१९ परीक्षण खारेज गर्ने बताए।
पछिल्लो २४ घण्टामा २ सय ७४ मा देखियो कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ७४ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ७४ मा कोरोना संक्रमण देखिएको बताए ।
कोरोना संक्रमितको संख्या केही दिनयता निरन्तर बढिरहेको छ । यससँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ भने हालसम्म १४ हजार २ सय ४८ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु, हालसम्म ५२ जनाले गुमाए ज्यान
स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृत्यु हुनेमध्ये एकजना मोरङका ४५ वर्षीय पुरुष हुन् । डा. गौतमले दिएको जानकारी अनुसार उनलाई ज्वरो र स्वासप्रस्वासको समस्या रहेको थियो र उनी निरन्तर भारत आवतजावत गर्ने गर्थे ।
उनलाई बुधवार विराटनगरबाट बीपी कोइराला अस्पताल धरान ल्याइएको थियो । त्यहीं उनको कोरोना परीक्षण पोजिटिभ देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा बुधवार अपराह्न उनको मृत्यु भएको हो ।
त्यस्तै कोरोनाका कारण मृत्यु हुने अर्का ७० वर्षीय पुरुष वीरगंज महानगरपालिकाका हुन् । उनमा मुटुरोग तथा मधुमेहसमेत रहेको डा. गौतमले बताए ।
उनलाई वीरगंजको एक निजी अस्पतालमा निमोनिया देखिएको थियो । त्यस्तै साउन ८ गते नारायणी अस्पतालमा भर्ना गरियो । उनको पनि बुधवार नै कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये अर्का एकजना पर्सा जिल्लाका ६८ वर्षीय पुरुष हुन् । उनमा गत ७ गत कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला रोगी पनि थिए । बुधवार बिहान ३ बजे उनको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।