०२ साउन २०८३, शनिबार

टर्कीमा सामाजिक सञ्जालमाथिको नियन्त्रण गर्ने कानून आएपछि उठ्यो बहस

साउन १६, २०७७
टर्कीमा सामाजिक सञ्जालमाथिको नियन्त्रण गर्ने कानून आएपछि उठ्यो बहस

टर्कीमा सामाजिक सञ्जाल साइटहरूलाई नियन्त्रण गर्नका लागि नयाँ कानून पारित गरिएको छ । मानवअधिकार समूहहरूले नयाँ कानून अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा भएको बताएका छन् । 

संसारभरि अन्लाइन कन्टेन्टलाई थप राम्रो तरिकाले कसरी नियन्त्रण गर्न सकिन्छ भनी चर्चा चलिरहेको छ । घृणास्पद अभिव्यक्तिदेखि कोरोनाभाइरसको झूटो समाचारसम्मलाई नियन्त्रणको प्रयास जारी छ । 

टर्कीले यस दिशामा सही कदम उठाएको बताएको छ तर सरकारको उद्देश्यका विषयमा विवाद चलिरहेको छ । 

यस कानून अनुसार, १० लाखभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक सञ्जालको कार्यालय टर्कीमा हुनुपर्ने र कन्टेन्ट हटाउने विषयमा सरकारको अनुरोधलाई पालन गर्नुपर्ने हुन्छ । 

कम्पनीले त्यसो गर्न अस्वीकार गरेमा उसमाथि जरिवाना लगाउने वा डेटाको स्पीड कम गर्ने प्रावधान छ । 

यो कानूनले फेसबूक, गूगल, टिकटक र ट्विटर जस्ता साइटलाई असर पार्ने पक्का छ । 

नयाँ कानून अनुसार, सामाजिक सञ्जाल प्लेटफर्मको ब्यान्डविथमा ९५ प्रतिशतसम्म कटौती हुन सक्छ । त्यसरी कटौती हुँदा उनीहरू बेकामे हुन्छन् । 

अनि सामाजिक सञ्जालहरूले आफ्नो युजर डेटा टर्कीमै राख्नुपर्ने नयाँ कानूनको प्रावधान छ । 

टर्कीको आठ करोड ४० लाख जनसंख्यामा सामाजिक सञ्जाल प्लेटफर्म निकै लोकप्रिय छन् । 

साइबर अपराधविरुद्ध लड्नु यस कानूनको उद्देश्य भएको सरकारको कथन छ । अनि मानिसहरूलाई अनियन्त्रित षड्यन्त्रबाट जोगाउने पनि यसको उद्देश्य भएको बताइन्छ । 

टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआन वर्षौंदेखि सामाजिक सञ्जाललाई अनैतिक बताउँदै आएका छन् । यसमा कठोर नियन्त्रण गर्ने उनको इच्छा सबैलाई थाहा छ । 

टर्कीमा सामाजिक सञ्जालमा व्यापक स्तरमा निगरानी राख्ने गरिएको छ । आर्दोआन र उनका मन्त्रीहरूको अपमान गरेको आरोप धेरै मानिसमाथि लागिसकेको छ । सरकारको आलोचना गरेको भन्दै धेरै मानिसमाथि कारवाही गरिएको छ । 

टर्कीको मूलधारे मिडिया विगत एक दशकदेखि सरकारको नियन्त्रणमा आइसकेको छ । आलोचनात्मक आवाज तथा स्वतन्त्र खबरका लागि साना अन्लाइन न्युज पोर्टल र सामाजिक सञ्जाल मात्र बाँकी छन् । 
 

फ्रीडम अफ एक्सप्रेसन एसोसिएसनका अनुसार, चार लाख आठ हजार वेबसाइटलाई ब्लक गरिएको छ । त्यसमा विकिपिडिया पनि पर्छ । 
 

एम्नेस्टी इन्टरनेसनलले टर्कीको यो नयाँ कानूनलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हमला भनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्