०९ असार २०८३, मंगलबार

मन्त्रालयको कार्यसम्पादनप्रति गृहमन्त्री असन्तुष्ट, कार्यशैलीमा सुधार गर्न निर्देशन

मन्त्रालयको कार्यसम्पादनप्रति गृहमन्त्री असन्तुष्ट, कार्यशैलीमा सुधार गर्न निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य प्राप्तिका लागि कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायलाई  निर्देशन दिएका छन्।

आइतबार मन्त्रालयमा आयोजित आव ०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले आधारभूत रुपमा सफल भए पनि पूर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको बताए।

‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्य आधारभूत रुपमा सफलता प्राप्त ग¥यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ। त्यसैले आगामी दिनमा अहिलेका कमजोरी सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस्,’ उनले भने। 

अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्न उनले निर्देशन दिए।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएको उल्लेख गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्न मातहतका निकायलाई निर्देशन दिए। 

एनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए।

गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रक्रिया अगाडि बढाएको भन्दै त्यसका लागि आवश्यक स्रोतसाधनका लागि पहल भइरहेको जानकारी दिए।

गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोस्रो चौमासिकबाट परिणाम आउने गरी  काम गर्न निर्देशन दिए।

नीति, योजना, अनुगमन तथा मूल्यांकन  महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले गत आर्थिक वर्षमा मन्त्रालयले १९ विभिन्न विषयमा नीतिगत तथा कानुनी सुधार गरेको, लागुऔषध प्रयोगकर्ता सर्वेक्षण सम्पन्न गरेको, मन्त्रालय र अन्तर्गतको बेरुजू फर्छयौट ७५ प्रतिशत भएको, अध्यागमन विभागमा बायो मेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणालीको प्रयोग गरिएको, कैदीबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्