१० असार २०८३, बुधबार

एक अनौठो कथा : अमेरिकी सुरक्षाकर्मी आईएस आतंकवादीको प्रेममा परेपछि...

कात्तिक २०, २०७४
एक अनौठो कथा : अमेरिकी सुरक्षाकर्मी आईएस आतंकवादीको प्रेममा परेपछि...

काठमाडौं, २० वैशाख — अमेरिकाको सुरक्षा नियोग एफबीआईले आफ्नो एक अनुवादक महिलाले सिरियामा गएर इस्लामिक स्टेट (आईएस) आतंकवादीसँग गोप्य विवाह गरेको पुष्टि गरेको छ ।


आतंकवादीलाई भर्ती गर्ने उक्त व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा उसकै प्रेमजालमा ती अनुवादक फसेकी थिइन् ।
घटनापछि एफबीआईले विभिन्न क्षेत्रको पहिचान गर्न तथा सुरक्षाका जोखिमको न्यूनीकरण गर्न अनेकौं कदम चालेको बीबीसीलाई बतायो ।

उक्त महिलाको नाम डानिएला ग्रीन हो र उनले सन् २०१४ मा आफ्ना रोजगारदाताहरूलाई झुटो बोलेको सीएनएनले पत्ता लगायो । यो स्टोरी सीएनएनले नै ब्रेक गरेको थियो ।

ती ३८ वर्षीया महिला अमेरिका भागेपछि दुई वर्ष कारागारमा बसेकी थिइन् ।

एक अमेरिकी न्यायाधीशले ग्रीनको कथा गोप्य राख्न आदेश दिएका भएपनि फेडेरल कोर्ट अभिलेखहरू सोमवार सार्वजनिक गरिएका थिए ।

ग्रीनले डेनिस कस्पर्टसँग विवाह गरेकी थिइन् । उनी जर्मनीका –याप गायक थिए र पछि आतंकवादी बने ।

सन् २०१५ मा अमेरिकी सरकारले उनलाई आतंकवादी घोषणा गरेको थियो ।

एउटा प्रोपागान्डा भिडियोमा उनले भर्खरै गिँडेको मानिसको टाउको समातेको देखिन्थ्यो ।

ग्रीनले एफबीआईको फिल्ड अफिसमा काम गर्दागर्दै सन् २०१४ को जनवरीमा कस्पर्टको अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीएनएनले बतायो ।

६ महिनापछि उनी सिरियामा गएर कस्पर्टसँग बिहे गरिन् ।

उनले आफ्ना वरिष्ठ अधिकारीहरूलाई जर्मनीमा बुवाआमा भेट्न जाने भन्दै ढाँटिन् ।

तर खासमा उनी टर्की गइन् र त्यहाँबाट आईएसको सहयोगमा सिरिया गइन् ।

त्यतिखेर उनी एक अमेरिकी सैनिकसँग विवाह गरेर बसेकी थिइन् ।

सन् २०१४ को जुनमा उनले कस्पर्टसँग विवाह गरिन् । कस्पर्टले आफ्नो उपनाम देसो डग त्यागेर अबु तल्हा अल–अल्मानी राखेका थिए ।

तर ग्रीनलाई नयाँ लोग्नेसँग असहज हुँदै गयो ।

उनले अमेरिकामा रहेका एक व्यक्तिलाई लेखिन्, ‘मैले योपाली सब कामकुरा बिगारें ।’

अर्को दिन उनले थपिन्, ‘म अब हराएँ र फर्किन सक्दिनँ । म एकदमै कठोर वातावरणमा छु र कतिन्जेल यहाँ बस्छु मलाई थाहा छैन । तर यो सबले कुनै अर्थ राख्दैन, धेरै ढिलो भइसक्यो अब त ।’

सिरिया पुगेको एक महिनाभित्र उनी भागेर अमेरिका फर्किन् ।

उनले अनुसन्धानकर्ताहरूसँग आफूले कस्पर्टलाई एफबीआईको अनुसन्धानको लक्ष्य रहेको बताएको स्वीकारिन् ।

उनी कसरी आईएसको कब्जामा रहेको क्षेत्रबाट भागिन् प्रस्ट छैन ।

सन् २०१४ को डिसेम्बरमा उनले अन्तर्राष्ट्रिय आतंकवादको सवालमा झुटो वक्तव्य दिएको स्वीकार गरिन् ।
उनलाई दुई वर्षको कारवास सजाय सुनाएर गत वर्ष रिहा गरियो ।

अहिले ग्रीन एक अज्ञात ठाउँमा होटेलमा काम गर्छिन् ।

अभियोजनकर्ताहरूले उनीमाथि कठोर सजाय हुनुपर्ने बताएपनि उनले लामो समयसम्म अधिकारीहरूलाई राम्रो सहयोग गरेकाले तुलनात्मक रूपमा नरम सजाय पाइन् ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्