काठमाडौं, २० वैशाख– भेनेजुएला पछिल्ला दिनहरुमा संकटबाट गुज्रिरहेको छ । सरकारले विपक्षीलाई सरकार परिवर्तनको प्रयास गरिरहेको आरोप लगाएका छ । तर विपक्षीले भने सरकारमाथि संविधान संशोधन गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

देश ठूलो आर्थिक संकटमा परेको छ भने आवश्यक सामानको मूल्य आकाशिएको छ , दूध तथा औषधिका पसलहरुमा मानिसहरुको लामो लाइन लागेको छ ।
बेरोजगारको स्थिति भयावह भइरहेको छ भने पछिल्लो तीन वर्षमा भेनेजुएला भारी आर्थिक संकटमा खस्किरहेको छ । राष्ट्रपनि निकोलस मडूरो देशलाई संकटबाट कसरी निकाल्ने भन्ने अन्योलमा रहेको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुरासार यस वर्ष भेनेजुएलामा महंगी ७ सय प्रतिशतले बढेको छ ।

मडूरोका विरुद्ध विपक्षी सडका आएका छन् । विपक्षीले चुनावको माग गर्दै सडक प्रदर्शनमा जुटेका छन् । मडूरो देशका लागि नयाँ संविधान आवश्यक रहेको बताइरहेका छन् ।
जसका विरुद्ध विपक्षी दलहरु आन्दोलनमा उत्रिएका छन् । र, अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ ।
मडूरोले भने आफ्ना विरुद्ध विदेशी षड्यन्त्र भइरहेको बताएका छन् । यसका लागि संविधानको परिवर्तन आवश्यक रहेको उनले बताएका छन् । अमेरिकाले भने यो मडूरोका सत्तामा टिकिरहने कोशिश भएको बताएको छ ।

भेनेजुएलामा दिवंगत राष्ट्रपति ह्युगो चाभेजको प्रभाव बढी रहेको छ । चाभेजको विचारधारलाई लिएर भेनेजुएलाका मानिस विभाजित भएका छन् । उनको पार्टी युनाइटेड सोशोलिस्ट पार्टी (पीएसयूवी) ले देशमा १८ वर्ष शासन गरेको थियो ।
२०१३ मा नेता चाभेजको मृत्यु भएपछि मडूरोले देश तथा पार्टी नेतृत्व गरिरहेका छन् ।
विपक्षीले १९९९ मा पीएसयूवी सत्तामा आएका कारण भेनेजुएलामा लोकतान्त्रिक संस्था तथा आर्थिक अवस्था कमजोर भएको दाबी गरेका छन् । तर, मडूरो सरकारले विपक्षीले अमेरिकाको इशारामा काम गरेको आरोप लगाएका छन् ।
भेनेजुएलाको अर्थव्यवस्था पेट्रोलियममाथि टिकेको छ । ९५ प्रतिशत राजस्व तेलबाट प्राप्त हुने गरेको छ । गत तीन वर्षमा तेलबाट प्राप्त हुने राजस्वमा पनि कमी आएको र सरकारले विभिन्न क्षेत्रको खर्च कटौती गरेको थियो ।
पेट्रोलियमबाट प्राप्त हुने राजस्व बढाउनका लागि भेनेजुएला सरकारले यसको मूल्य ६ हजार प्रतिशत बढाएको थियो । यसको मतवल एक लिटर ग्यासको मूल्य एक अमेरिकी डलर थियो भने अव बढेर ६० अमेरिकी डलर भएको छ ।