
प्रगतिशील लेखक संघले अंग्रेजी भाषामा मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट बनाउने व्यवस्था गर्न लागिएकामा विरोध जनाएको छ ।
नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबै खालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेका अवस्थामा यस्ता राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न संघले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो ।
संघका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ ।
यसैगरी संघले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई काठमाडौंमा सार्ने निर्णय स्थगन भएकोमा पनि चिन्ता व्यक्त गरिएको छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि राष्ट्रिय पुस्तक नीति ल्याउन र उक्त पुस्तकालयलाई जमलमा स्थापित गर्न पनि संघले आग्रह गरेको छ ।