काठमाडौं, २१ वैशाख-प्रमुख राजनीतिक दल ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार तालमेलको अन्तिम कसरतमा जुटेका छन् ।

निर्वाचनमा संसद्को पहिलो र तेस्रो ठूलो दल सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर प्रतिस्पर्धाको तयारी गरेका छन् भने प्रतिपक्षी दल नेकपा एमाले र भर्खरै सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर मैदानमा उत्रने कसरतमा जुटेका छन् ।
उम्मेदवारको उम्मेदवारी फिर्ता लिने समय (बिहीबार) सम्म तालमेलका लागि वार्ता जारी राख्ने दलहरूले बताएका छन् । ‘आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्ममा धेरै ठाउँमा तालमेल हुने सम्भावना छ । पार्टीगत रूपमा उम्मेदवारी परेका ठाउँमा पनि तालमेलपछि फिर्ता र समर्थनको प्रक्रिया अघि बढ्नेछ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले भने ।
दलहरू उम्मेदवारी फिर्ताको समयभित्र मिल्न नसकेको अवस्था आए मतदानको अघिल्लो दिनसम्ममा पनि तालमेल हुने बताउँछन् । दलीय उम्मेदवारी बेग्लाबेग्लै परे पनि एकअर्कालाई त्याग गरेर भोट माग्न जाने सम्भावना निर्वाचनका दिनसम्म पनि चल्ने एमालेका नेताहरू पनि स्वीकार गर्छन्, आजको राजधानीमा खबर छ ।