
सुर्खेतको बराहताल गाउँपालिका–५ सुनद्वारीका युवा भैसीपालनतिर आकर्षित भएका छन् ।
रोजगारीका लागि मलेसियादेखि भारतका विभिन्न शहरमा जाने गरेका युवा हाल गाउँमै भैसीपालन गर्न थालेका छन् ।
गाउँमा रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’का अध्यक्ष रत्नलाल सुवेदीले गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरू लागेको बताए । गाउँमा गरिने कृषि क्षेत्रमा यान्त्रीकरण गरी मशिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्ने तयारी भएको उनले बताए ।
‘गोरुले गर्ने काम मशिनले गर्छ, गोरु पाल्नुको सट्टा भैसी पाल्छौं, दूध बेचेर आम्दानी गर्छौं,’ उनले भने । यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए । पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए ।
समूहका सचिव गोविन्द पौडेलले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको बताए । स्नातकसम्मको अध्ययन गरेका पौडेल १ वर्षअघि मात्रै मलेसियाबाट फर्किएका हुन् । उनी आफैंले पनि ७ वटा भैंसी पालेका छन् ।
व्यावसायिक रुपमा भैंसीपालन गरेका पौडेलले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । सरकारी अनुदानसहित उनले भैसीपालनमा १३ लाख रुपैयाँ लगानी गरेका छन् ।
‘आफ्नो लगानी थोरै भए पनि सरकारी अनुदानको सहयोगले भैसीपालन शुरू गरेको छु,’ उनले भने, ‘मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुन्छ, खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुन्छ ।’
कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैसी वितरण गरिएको छ । अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गरी ११० वटा भैसी वितरण गरिएको छ । २०७६ /७७ मा प्रदेश सरकारको १ लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी १ लाख ३२ हजार बराबरको भैसी वितरण गरिएको थियो ।
सुनद्वारी गाउँमा दूध बेचेबापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ । गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकले दूध जम्मा गर्छन् । फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन् ।
‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, नत्र गाउँमा प्रतिमहिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको गाउँमा धेरै भैसी पाल्ने कृषकहरूका लागि जनशक्ति पाउन भने समस्या छ ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सुनद्वारीका युवा कृषकले खेती किसानी गरेर पनि मासिक रुपमा हजारौं आम्दानी गर्न सकिने प्रमाणित गरेको बताइन् । उनले कृषि क्षेत्र नै कर्णाली समृद्धिको पहिलो आधार भएको बताउँदै आगामी दिनमा पनि कृषि कर्ममा लाग्ने युवालाई सरकारले सहयोग गर्दै जाने बताइन् ।