२९ जेठ २०८३, शुक्रबार

मन्दिर शिलान्यासमा श्रीरामको ससुराली जनकपुरबाट यसरी भयो अयोध्यामा प्रतिनिधित्व

साउन ३१, २०७७
मन्दिर शिलान्यासमा श्रीरामको ससुराली जनकपुरबाट यसरी भयो अयोध्यामा प्रतिनिधित्व

जनकपुरधामको जानकी मन्दिरका मूल महन्थ रामतपेश्वर दास बैष्णव हालै भारतको अयोध्याबाट फर्किएका छन् । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा भगवान् रामको जन्मभूमिमा सम्पन्न भएको भूमि पूजन तथा मन्दिर शिलान्यास कार्यक्रममा नेपालबाट उनी मात्रै सहभागी थिए ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महन्थ नृत्य गोपालदासको औपचारिक निमन्त्रणामा उनी साउन २१ गते सम्पन्न भएको भूमि पूजनमा सहभागी भएका थिए । मन्दिर निर्माणका लागि जनकपुरबाट चाँदीका ५ वटा इँटा समेतको योगदान गरिएको छ ।

गत साउन २१ गते शिलान्यास कार्यक्रममा पुग्न उनी साउन १९ गते नै भारततिर प्रस्थान गरे । तर महोत्तरीको भीठामोड नाकाबाट उनले जान पाएनन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले आवतजावत बन्द गरेकाले उनी जान पाएनन् । 

भोलिपल्ट जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईबाट सवारी पास बनाएर उनी साउन २० गते अपराह्न साढे ४ बजे जटही नाका हुँदै भारत प्रवेश गरे । अयोध्या पुग्न बाटोमा थुप्रै ठाउँमा चेकजाँचको समस्या भोग्नुपर्‍यो उनले ।

‘अयोध्या जान लागेको भन्दै आमन्त्रणा पत्र देखाएपछि बिहारमा त्यति समस्या भएन । तर उत्तर प्रदेशको गोरखपुरमा भने प्रहरीले आमन्त्रण पत्र देखाउँदा पनि जान नदिएपछि मैले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरेर गोरखपुरमा रोकिएको जानकारी गराएँ,’ महन्थ बैष्णवले भने, ‘त्यसपछि उहाँले प्रदेशको प्रहरी प्रमुखलाई भनेपछि अयोध्या पुग्न सकें ।’ राति ८ बजे सीमा नाकाबाट प्रस्थान गरेका उनी बिहान ८ बजे अयोध्या पुगेका थिए ।

अयोध्यामा जानकी मन्दिरको आफ्नै आश्रम छ । यसअघिका महन्थ रामशरण दास बैष्णवले १ कठ्ठा जग्गा किनेर आश्रम र ३ तले घर बनाएका छन् । घरको स्वामित्व जनकपुरको जानकी मन्दिरको नै रहेको छ ।

‘हामीले किशोरीजी अर्थात् सीतालाई छोरीको रूपमा मान्ने गर्छौं र अयोध्या उहाँको ससुराली भएको कारण छोरीको घरमा बस्नु हुँदैन, छोरीको खाना खानु हुँदैन भन्ने मान्यताका कारण मेरो गुरुजीले त्यहाँ जग्गा किनेर घर बनाउनुभएको थियो,’ उनले भने, ‘विभिन्न बेला बखत वा धार्मिक अवसरमा हामी त्यहाँ जानुपर्ने नै हुन्छ, त्यस्तो बेला हामी आफ्नै आश्रममा बस्ने गर्छौं ।’ अयोध्या पुगेपछि महन्थ केही समय आश्रममा गएर १२ बजे राम जन्मभूमि पूजन शिलान्यास कार्यक्रममा सहभागी भएका थिए । 

शिलान्यास कार्यक्रममा जनकपुरबाट महन्थ बैष्णवले १/१ किलो चाँदीका ५ वटा इँटा लगेका थिए । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, निर्मला देवी, भारतको गोपालगञ्जका एक जना भक्त राजन तिवारी र २ जना गुप्त दान गरेका भक्तबाट प्राप्त १/१ इँटा गरी ५ वटा चाँदीका इँटा महन्थ बैष्णवले लगेका थिए । ५ वटै इँटा भूमिपूजन कार्यक्रमका अध्यक्ष पंकजजीलाई दिएको उनले बताए ।

इँटाहरू तत्काल नै भूमिमा राखिएका थिएनन् । ‘मैले चाँदीका इँटा मात्रै लगेको थिएँ । तर त्यहाँ त भारतसहित विभिन्न २५ वटा देशबाट १/१ किलो सुनका इँटाहरू थुप्रै आएको थियो,’ उनले भने, ‘सुरक्षाका लागि भनेर ती सबै सुनचाँदीका इँटाहरू व्यवस्थापकको जिम्मा लगाइएको थियो ।’ मन्दिर निर्माण गर्ने बेला सबै इँटाहरू भूमिमा जोडिने उनले बताए ।

भारतीय प्रधानमन्त्री मोदीलाई उपहार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोशेली प्रदान गर्न जानकी मन्दिरबाट उनी आफैंले चाँदीको जानकी मन्दिरसहित राजा जनकले हलो जोत्ने बेला सीता प्रकट भएको प्रतिमा बनाएर लगेका थिए । ‘अयोध्या मन्दिर निर्माण समितिका संयोजक चम्पकजीलाई प्रतिमा दिएर प्रधानमन्त्री मोदीको हातमा दिन लगाएँ,’ बैष्णवले थपे, ‘उहाँले नेपालको जानकी मन्दिरबाट महन्थजीले प्रतिमा उपहार स्वरूप भेट गरेको भनेर प्रधानमन्त्री मोदीलाई जानकारी गराउनुभयो ।’ भेट ग्रहण गर्दै मोदीले नेपाल–भारत सम्बन्ध धेरै पुरानो र अकाट्य रहेको बताउँदै आफू पनि जानकी मन्दिर पुगेर माता जानकीको दर्शन गर्ने अवसर प्राप्त गरेको कुरा स्मरण गरेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण १५० जनालाई मात्र कार्यक्रममा उपस्थित गराइएको थियो । भारतको अयोध्यामा मात्रै १८ हजार मन्दिर छन्, ५० हजारभन्दा बढी साधुमहन्थ छन् । तर पनि ऐतिहासिक अवसरमा आफूलाई सहभागी हुने अवसर प्रदान गरिएकोमा आफू भाग्यशाली रहेको उनी बताउँछन् ।

‘भगवान् रामको जन्मभूमिमा मन्दिर बनाउन थुप्रै साधुहरूले आफ्नो ज्यानको बलिदानी समेत दिएको र ३० वर्षदेखिको लामो प्रतिक्षा समस्त हिन्दू धर्मावलम्बीको थियो,’ उनले भने, ‘मेरो लागि त झन् उत्साहित हुने अवसर किन पनि थियो भने मेरो किशोरीजीको ससुरालीमा घर बन्न सकेको थिएन र बल्ल घर निर्माणको काम शुरू भएको छ ।’ घरबारविहीन छोरीले घर बनाउँदा बुवाजति खुशी हुन्छ, त्यति नै खुशी आफू पनि भएको उनी बताउँछन् ।

अयोध्यामा भगवान् रामको मात्र प्रतिमा बनिरहेको भन्दै सीता र रामसहित एकैसाथ प्रतिमा बन्नुपर्ने जनकपुरमा धेरैले कुरा उठाइरहेका छन् । तर राम जन्मभूमिको मन्दिर बनिरहेका कारण त्यसमा ठूलो आपत्ति जनाइहाल्नुपर्ने विषय नरहेको उनी बताउँछन् । ‘जसरी जनकपुरको जानकी मन्दिरलाई हामीले ‘जानकी महल’ भनेर भन्ने गर्छौं, ठीक त्यसैगरी त्यहाँ राम जन्मभूमिको मन्दिर निर्माण भइरहेको छ,’ महन्थ बैष्णवले भने, ‘त्यहाँ अयोध्यामा पनि ‘कनक भवन’को रूपमा किशोरीजीको महल अर्थात् किशोरीजीको दरबार छँदैछ ।’

राम कचहरी, राम खजाना, रंग महल, सीता रसोई, लक्ष्मण किल्ला, झुनझुनीया घाट, गोला घाट सहितको छुट्टै स्थान रहेका उनले बताए । ‘तैपनि अयोध्याको हाइवेमा बन्न लागेको भगवान् रामको ठूलो प्रतिमाको ठाउँमा सीताको पनि प्रतिमा राखेर प्रतिमा बनाउनका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आग्रह गरेको छु,’ उनले भने, ‘योगी आदित्यनाथले पनि सकारात्मक रहेको जवाफ दिनुभएको छ ।’

पछिल्लो समय नेपाल–भारतबीच कूटनीतिक सम्बन्धमा तिक्तता भए पनि नेपालको मिथिला र भारतको अवधबीच त्रेताकालदेखि नै वैवाहिक सम्बन्ध रहँदै आएको छ । जनकपुरको जानकी मन्दिर र अयोध्याको मन्दिरबीच धेरै पहिलेदेखि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । सीता र रामको विवाह भएको दिन प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट महन्थको अगुवाइमा जन्ती आउने गर्छन् । जानकी मन्दिरले सप्ताहव्यापी रूपमा विवाह पञ्चमी आयोजन गर्दै स्वागत गर्ने परम्परा रहेको छ । 

जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा तथा अयोध्याका महन्थ राजा दशरथको भूमिकामा रहने गर्छन् । यसअघि भारतीय प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएर जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्