
बेलारुसको राजधानी मिन्स्कमा आइतवार दशौं हजार विपक्षी प्रदर्शनकारीहरू भेला भएर देशकै इतिहासको सबभन्दा विशाल प्रदर्शन गरेका छन् ।
राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को धाँधली गरेर पुनर्निर्वाचित भएको आरोप लगाउँदै प्रदर्शन गरिएको हो । लुकाशेन्कोले चाहिँ राजीनामा नदिने अनि ताजा निर्वाचन पनि नगराउने अड्डी लिएका छन् ।
आइतवार आफ्ना समर्थकहरूको भेलालाई सम्बोधन गर्दै लुकाशेन्कोले अहिले दबाबमा नयाँ निर्वाचन गरिए बेलारुसको स्वतन्त्र हैसियत मर्ने बताए । उनले नाटोका सैनिकहरू बेलारुसको पश्चिमी सीमामा भेला भएकोलाई पनि आलोचना गरे ।
‘मैले तपाईंहरूलाई मेरो प्रतिरक्षा गर्नका लागि यहाँ बोलाएको हैन । तर २५ वर्षमा पहिलोपटक तपाईंहरूले देश र यसको स्वतन्त्रताको प्रतिरक्षा गर्नुपर्ने भएको छ,’ उनले भने ।
बेलारुसमा गत सातादेखि व्यापक मात्रामा सडक प्रदर्शन भइरहेका छन् । लुकाशेन्कोले ८० प्रतिशत मत ल्याएको भनी दाबी गरिएको निर्वाचन धाँधलीपूर्ण भएको विपक्षीहरूको आरोप छ ।
लुकाशेन्कोले विगत २६ वर्षदेखि बेलारुसको शासन चलाइरहेका छन् र अहिले उनको नेतृत्वका विरुद्ध ठूलो चुनौतीको सामना गरेका छन् ।
बेलारुसमा विपक्षी दलका समर्थकहरूले स्वतन्त्रताका लागि जुलूस (मार्च फर फ्रीडम) निकालेका छन् ।
‘
सत्ता छोड्’ भन्ने नारा लगाउँदै उनीहरूले जुलूस निकालेका हुन् । तीमध्ये केहीले रातो र सेतो झण्डा बोकेका थिए । लुकाशेन्कोको विरोधका लागि राष्ट्रिय झण्डा प्रयोग गरिएको हो ।
प्रदर्शनकारीहरूले विजयको चिह्न देखाएका थिए अनि फूल र बलून पनि बोकेका थिए ।
‘मैले अहिले देखेको दृश्य अविश्वसनीय छ । एक लाखभन्दा बढी मानिस भेदला भएका छन् । विशाल जनसमूह छ । लुकाशेन्कोले यसको अपेक्षा गरेका थिएनन् होला,’ एक प्रदर्शनकारीले भने ।
प्रदर्शनकारीहरूले ‘हामी हिंसाविरुद्ध छौं’ अनि ‘लुकाशेन्कोले यातना र मृत्युको जवाफ दिनुपर्छ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनलाई प्रहरीले गरेको कठोर दमनका कारण सयौंजना घाइते भएका छन् र दुईजना मारिएका छन् । ६ हजार ७०० भन्दा बढी मानिस पक्राउ परेका छन् । अधिकांश विरोधकर्ताहरूले आफूहरूलाई प्रहरी हिरासतमा यातना दिइएको बताए ।
लुकाशेन्कोलाई चुनौती दिने विपक्षी नेता तिखानोभ्स्काया गत मंगलवार छिमेकी मुलुक लिथुआनिया पुगेकी छन् । उनले सप्ताहान्तमा प्रदर्शन गर्न र पुनः मतगणना गर्न आह्वान गरेकी छन् । उनले शक्ति हस्तान्तरणका लागि राष्ट्रिय परिषद् गठन गर्न थालेको घोषणा गरिएको छ ।