
नेकपा सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वयको राजीनामा मागेको भनेर आएका समाचारहरूको उनको सचिवालयले खण्डन गरेको छ ।
उपाध्यक्ष गौतमका स्वकीय सचिव दीपक टामाटाले बैठकमा उपाध्यक्ष गौतमले राखेको धारणालाई तोरमरोड गरेर प्रस्तुत गरिएको जनाएका हुन् ।
के लेखे फेसबूकमा ?
'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा क. वामदेव गौतमको आपत्ति, मागे ओली र प्रचण्डको राजीनामासम्बन्धी समाचारहरूमा आएजस्तो मलाई लाग्दैन । मैले सुने अनुसार क. वामदेवले बैठकमा आफूले सिर्जना गरेका समस्याका सम्बन्धमा आफैंले नै समधानका उपायहरू पत्ता लगाउनुको सट्टा अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति (नेतृत्वहरू) असफल भएकै हौं ? भन्ने प्रश्न राख्नुभएको हो । यस सन्दर्भलाई तोडमरोड गर्नु उचित हैन भन्ने मलाई लागेको छ,' टमाटाले फेसबूकमा लेखेका छन् ।