२६ जेठ २०८३, मंगलबार

संस्कृतको पठनपाठन विस्तार गर्न आग्रह

भदौ ६, २०७७
संस्कृतको पठनपाठन विस्तार गर्न आग्रह

नेपालको प्राचीन र मौलिक भाषाका रूपमा रहेको संस्कृतलाई सबै तहमा अध्ययन–अध्यापनको वातावरण मिलाउन शिक्षाविद् तथा संस्कृत वाङ्यमयप्रेमीले आग्रह गरेका छन् ।

जयतु संस्कृतम् नेपालद्वारा भर्चुअलरूपमा आयोजित कर्णाली प्रदेशमा संस्कृत लोकभाषा अभियान तथा साधारण विद्यालयमा संस्कृत भाषाको प्रयोगको सान्दर्भिकता विषयक संवाद कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले संस्कृतलाई कर्मकाण्डीरूपमा मात्रै प्रचारित गरिनु दुःखद् भएको उल्लेख गर्दै संस्कृतमा पाइने दर्शन, ज्ञान विज्ञान र आयुर्वेदलाई पश्चिमा जगत्ले उजागर गर्न थालिसकेका सन्दर्भमा नेपालमा यसको थप जागृत गर्न जोड दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिस्ट्रार उपाध्यायले एसईईमा संस्कृत पढेकालाई मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने प्रावधान हटाइ खुला र प्रतिस्पर्धात्मक रूपमा पठनपाठन अगाडि बढाउन आग्रह गरे ।

नेपाल सरकारका पूर्वसचिव जनार्दन नेपालले विक्रम संवत् २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिपछि  औपचारिक शिक्षामा संस्कृत भाषाको प्रवेश भएको र संस्कृतको महत्त्व बुझाउन नसक्दा सशस्त्र द्वन्द्वकालमा यस भाषाको उपेक्षा हुन पुगेको औल्याउँदै यस भाषाको महत्त्वबारे थप अध्ययन गर्न आग्रह गरे ।

भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेलले संस्कृत शब्दहरूको प्रयोगका कारण नेपाली मौलिक भाषाको मानकीकरणमा योगदान पुगेको बताउँदै संस्कृत दर्शन र पौराणिक वाङ्यमयलाई संवद्र्धन गर्न आवश्यक रहेको बताए । संस्कृत भाषा नजानेसम्म नेपालका ऐतिहासिक अभिलेखको अध्ययन समेत गर्न नसकिने जनाए ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले घर व्यवहारदेखि शिलालेख बुझ्नसम्म संस्कृत पढ्नुपर्ने आवश्यकताबोध नयाँ पुस्तालाई सरलरुपमा गराउन आग्रह गरे ।

आचार्य नोबू शेर्पाले बौद्ध दर्शनको ज्ञान र महायानी शास्त्रहरु संस्कृत भाषामै रहेकाले पूर्वीय सभ्यतालाई सर्वसाधारणसम्म विकास गरी विश्वव्यापीकरण गर्न आवश्यक रहेको टिप्पणी गरे ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. धनेश्वर नेपालले सबै तहमा कुनै न कुनै रुपमा संस्कृत भाषाको अध्यापनका लागि सरकारलाई दबाब दिन सुझाव दिए ।
    
जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलले १ देखि ८ कक्षासम्मको ऐच्छिक विषयका संस्कृतको पाठ्यक्रम तयार भइसकेको स्थितिमा जनस्तरसम्म यसको कार्यान्वयनका लागि अभियान थालनी गरिएको जानकारी दिए । जयतु संस्कृतम् नेपालमा प्रजातन्त्र स्थापनाका लागि जागरण ल्याउने एक पुरानो अभियान हो ।

salt training

कमेन्ट गर्नुहोस्