१६ असार २०८३, मंगलबार

लुकिछिपी ल्याउँदा उपत्यका अशान्त भयो- मेयर शाक्य

लुकिछिपी ल्याउँदा उपत्यका अशान्त भयो- मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका भरी नै कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन्।

‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ उनले भने, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ।’

उपत्यकावासीले यस अघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही समय कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे।

‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेका छन्,’ उनले भने,  ‘सरकारले गरेको आग्रहलाई पूर्ण पालना गरी तपाईँहरुले  सावधानी अपनाउनु भयो भने संक्रमणको सम्भावना निकै कम हुन्छ। सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुभयो भने हामी उपचार गर्न तयार छौँ। तीनवटै सरकार कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लागेका छन्। कोरोनाका कारण सकेसम्म कसैले पनि ज्यान गुमाउने अवस्था आउनु हुँदैन भन्नेमा संघ, प्रदेश र स्थानीय तह सचेत छन्।’

उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए।  ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उनले भने, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो ।’

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए। ‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे-नरहेको पुष्टि गर्ने अन्तिम परिक्षण मात्र हो। यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन,’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने पाँच लाख ८९ हजार ८  सय ९९ सयको आरटी पीसीआर टेष्ट गर्दा ३० हजार ४ सय ८३ जना व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ।’

salt training

कमेन्ट गर्नुहोस्