
पातलो छाया ओढेर
भी.सी. तक्माको किनाराबाट
खै केले नियालिरहेछ
जिन्दगीका यी किरिङमिरिङ तस्विरहरू ?
°°°
यो रित्तो मतानमा बसेर
यतिखेर,
किन मुर्चुङ्गा फुकिरहेछन्
युद्धले खाएका तन्नेरी पारूहाङहरू ?
र यी तमोरका छालहरू
आफ्नो मष्तिस्क आफैं चपाउँदै
अब कहिलेसम्म,
यसरी बगिरहन्छन्- इतिहासको चिसो आँसु ?
°°°
मुन्धुम फुकेर
फ्याँकिएका अक्षताजस्तै सुब्बाहरू
चंगाचेट भएर
यो रङ हराएको आकाशमा
किन होला बेखबर कावा खाइरहेछन् ?
आफ्नै अनुहार मेटिएर
उदास बनेका यी लुंगेली हिमालहरू
भन न युमा !
कुन युगदेखिका मौन साक्षी हुन् ?
र भोकको तुवाँलोभित्र
उहिल्यै हराएको एक फुर्लुङ भरोसा
आज आतंक बनेर
किन यसरी फनफनी बुढेशकाल घुमिरहेछ ?
°°°
धान–नाचमा पिरती लाएर
हलक्कै अग्लिएका
बुढासुब्बाका थुम्केली पहाडहरू
आज किन अशान्त छन्
फेदङवा–बाजेका दुःखित मनहरूजस्तै ?
वैँशालु वसन्त बान्किएर
कोरली रहरहरू मुस्कुराइरहेको वनमा
कहिलेसम्म फक्रिरहन्छन्
अनुहार गुमाएका आदिम बुकी फूलहरू ?
°°°
काभ्राका पिपीरा टिपेर
जीवनको टुकी जलाइरहेका फाल्गुणीहरू
किन विवश पारिन्छन्
आफ्नै वैंशमा रेटिएर आत्महत्या गर्न ?
यो उराठ झोडाको तुफानभित्र
खै कहिलेदेखि
चल्न थालेको हो - चैत्रको हुरहुरे बतास ?
र शिरको टोपी निचोरेर
मान्छेहरू विवश भइरहेछन्
सभ्यताको एउटा बाटुलो अनुहार पुछ्न !
°°°
झरीले खाएर
आधा मक्किएको पेरुङ्गोजस्तै
खुर्पेटे आँखाहरू
आफ्नै विश्वासका खोरियाहरूमा टेकाउँदै
किन भने होलान् जीजुबाजेले
“न्पघेन सोरेक्यापान चाःन्नीन पा आनि इन्नेरो" ?
उमेरको फक्ताङलुङ
आज ७० शिशिर झरिसक्दा पनि
अझै अनुत्तरित नै छन्
डम्बरहाङका लाटो जिन्दगीका जिज्ञासाहरू !
°°°
प्रश्नहरूको झीरमा उनिएर
उसँगै छटपटिरहेछ
यतिखेर फाल्गुनन्दको पुरानो सामधी पनि !
र इतिहासको टापले कुल्चिएर
रगताम्मै भएर बगिरहेछ
जीवन सुसाउँदै ओरालो झर्ने तमोर खोला !
साँच्ची !
कहाँनेर छ होला
त्यो प्रिय सोरेक्यापान रङ
हाम्रो शिरमाथि लहराउने झण्डाको परिधिभित्र ?
°°°
यो बगैँचाको चतुर्भूजी आयतन
वर्षौं-वर्षदेखि
डम्बरहाङ चुपचाप चुपचाप हेरिरहेछ !
थाहा छैन
कसले मेटाइदियो होला
यो इन्द्रेणी देशबाट उसको राजले अनुहार ?
ओ, त्रिविष्टवहरू हो !
तिमी स्वीकार गर या अस्वीकार
इन्द्रेणी भन्नु नै,
रङहरूको कलात्मक समष्टि नै त हो !
– प्रथा