
हालसम्म ४७ जिल्लामा निषेधाज्ञा, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाही !
गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।
कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
उनले भने, ‘यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उहाँहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।’
जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको समेत उनले बताए । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उनले जानकारी दिए ।
पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुव्र्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए ।
कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थिए । चितवनका चिकित्सक विश्ववन्धु बगाले आफैँ पनि त्यस्ता गतिविधिको शिकार भएका थिए । उनले यस्ता गतिविधिले सङ्क्रमितहरु झन पीडित हुनुपरेको राससलाई बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स हालेर नै त्यसको विरोध गरेका थिए । कतिपय स्थानमा सङ्क्रमितलाई राख्न नहुने भन्दै प्रदर्शन गरिएको घटना सार्वजनिक भएका थिए । स्वास्थ्य विज्ञहरुले यस्ता घटनाले रोकथामको अग्रभागमा खटिएका व्यक्तिलाई निरुत्साहित पार्ने बताउँदै आएका छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण नेपालमा पछिल्लो समयमा दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमण जोखिमको मुल्याङ्कन, विश्लेषणसमेतको आधारमा थप जोखिम बढ्न नदिन सरकारले आवश्यक कदम चाल्दै आएको छ ।
जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ । यस्तै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।
साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मास्क नलगाउने ३१ हजारलाई कारवाही मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको छ । आजसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ ।
यस्तै ३१ हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमति नलिइ काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६१२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ ।
मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ ।
निषेधाज्ञाबारे काठमाडौँ जिल्ला प्रशासनको थप स्पष्टोक्ति - केके गर्न पाइने, के नपाइने ?
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको विषयमा थप स्पष्ट पारेको छ ।
आइतवार एक विज्ञप्ति जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले औषधि पानी र स्वास्थ्य सामग्री चौबिसै घण्टा खोल्न सकिने र खाद्य, दूग्ध, फलफूल/तरकारी, माछा मासु पसलहरू बिहान सवा नौ बजेसम्म खोल्न सकिने स्पष्ट पारेका हुन् ।
‘जिल्ला प्रशासन कार्यालय काठमाडौँ प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम ४ गतेबाट लागू भएको निषेधाज्ञाका बारेमा स्पष्ट गर्दै अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुला राख्न सकिने,’ विज्ञप्तिमा उल्लेख छ ।
‘अत्यावश्यक वस्तुमध्ये खाद्य, दूग्ध, फलफूल/तरकारी/ माछा मासु आदि पसलहरू ९:१५ सम्म खोल्न सकिने,’ विज्ञप्तिमा थप भनिएको छ ।
उल्लेखित व्यापार/ व्यवसाय संचालन गर्दा अनिवार्य रूपमा सामाजिक भौतिक दूरी कायम राख्ने, मास्क स्यानितैजर प्रयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्ने गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा निषेधाज्ञा झन् कडा
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस रोकथामका लागि भदौ ३ गतेदेखि १० गतेसम्म जारी गरेको निषेधाज्ञा झन् कडा गरेको छ ।
आइतवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले खाद्यवस्तु, दूध, फलफूल, तरकारी र माछामासु पसल बिहान सवा ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने जनाएका छन् ।
यसअघिको आदेशमा खाद्यवस्तु, दूध लगायतका पसललाई अत्यावश्यक सेवामा राख्दै जुनसुकै बेला पनि सञ्चालन गर्न पाइने उल्लेख थियो । प्रशासनले औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल भने जुनसुकै बेला पनि निर्वाध रुपमा खुला राख्न सकिने जनाएको छ ।
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले कारवाहीका लागि मातहतका निकायमा निर्देशन दिएको छ ।
आइतवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको जानकारी दिए ।
‘देशका केही स्थानहरूमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएकोले त्यस्ता कार्य हुन/गर्न नदिन तथा संलग्न हुनेहरू उपर तत्काल कानून बमोजिम कारवाही हुन मातहत सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमण जोखिमको मूल्यांकन, विश्लेषण समेतको आधारमा थप जोखिम बढ्न नदिन संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका ३ वटै जिल्लासहित ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट निषेधाज्ञा आदेश जारी भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार पीसीआर परीक्षण, ८ सय १८ मा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ सय १८ कोरोना संक्रमित थप भएको जनाएको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार २६ को पीसीआर परीक्षण गरिएकोमा ८ सय १८ मा संक्रमण भेटिएको बताएका हुन् ।
यससँगै हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ८१ रहेको छ भने नेपालमा हालसम्म १८ हजार ६ सय ३१ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ मा संक्रमण देखिएको डा. गौतमले बताए । काठमाडौँ जिल्लामा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित भेटिएका छन् ।