
च्याम्पियन्स लीगको फाइनल खेलमा पीएसजीलाई बायर्न म्युनिखले हराएपछि पीएसजीका सुपरस्टार खेलाडी नेयमार ग्वाँ ग्वाँ रोएका छन् ।
खेल जितेपछि बायर्नका खेलाडीहरू खुशी हुँदै पिचतर्फ दौडेका थिए भने क्यामराहरूले नेयमारका फोकस गरेका थिए । नेयमार एस्तादियो दा लुजको पिचमै रोएका थिए ।
नेयमारलाई बायर्नका डेभिड अलाबा फकाउन पुगेका थिए । उनले नेयमारको शिरलाई आफ्नो काँधमा राखेर रुन दिएको क्षण प्रतियोगिताको इतिहासमा दर्ज भएको छ ।
नेयमारले बार्सिलोना छोडेर पीएसजीमा चम्किन चाहेका थिए । तर घाइते भएर उनले कैयौं खेल गुमाउन पुगेका थिए । यस सीजनमा भने उनी फाइनलसम्म पुगे । तर उपाधि जित्ने उनको चाहना यसपालि अधुरै रह्यो ।
अलाबाले सान्त्वना दिए पनि नेयमारको उदासी हटेन । खेलमा गोल गर्ने अवसर चुकाएका नेयमार पछि बेन्चमा बसेर पनि रोइरहे । उनका साथी खेलाडी र ब्राजिलका सहखेलाडी फिलिप्पे कउटिन्हो पनि उनलाई सान्त्वना दिन पुगे ।
पीएसजीका अध्यक्ष नासेर अल–खेलाफी पनि नेयमारलाई अँगालो हाल्न पुगे । प्रशिक्षक टमस टुचेललाई अभिवादन गर्ने क्रममा चाहिँ नासेर त्यति खुशी देखिएनन् ।
बायर्नले ट्रफी उचाल्दा पनि नेयमारको आँखामा आँसु थियो । कीलियन एम्बाप्पे गम्भीर देखिन्थे तर रोएका थिएनन् ।