
चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।
केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ ।
निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । केरा व्यवसायी संघ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताउँछन् । उनले भने, ‘यो समयमा बजारको निकै ठूलो समस्या छ ।’ २५ देखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको र कतिपय चराको आहार बनेको उनले बताए । ‘केरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेको देख्न सकिन्छ,’ उनले भने ।
नेपालमा लकडाउन शुरूसँगै केरा पाकेको थियो । बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको उनले बताए । ‘यस वर्ष केराको उत्पादन राम्रो थियो,’ उनले भने, ‘बजार र मूल्य पाइएन, करोडौंको क्षति भयो ।’
उनले निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो गरे । यो समयमा व्यपारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको महतोको भनाइ छ ।
३ तहका सरकारले छुट्टाछुट्टै निर्णय गर्दा झन् समस्या भएको उनले बताए । ‘यहाँबाट केरा लगिए पनि जिल्ला र पालिकाहरूमा अवरोध गर्ने गरिएको छ, कतिपय अवस्थामा बाटोमै रोकिनुपर्ने अवस्था छ,’ उनले भने । उनका अनुसार यस वर्ष मलको अभाव छ । केराका लागि मल अत्यावश्यक छ, यस्तै भयो भने अर्को वर्ष उत्पादन घट्छ ।
केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताए । ‘लकडाउनभन्दा पनि निषेधाज्ञापछि झन् समस्या भएको छ,’ उनले भने, ‘बिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन ।’
केरा बिक्री नभएपछि आफैं पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको उनले बताए । ‘बारीमा केरा पाकेको छ, बिक्री नभएर चराले खाइरहेको छ, केही झरेर नष्ट भएको छ,’ उनले भने । यस वर्ष समयमा नै पानी परेका कारण केराको उत्पादन राम्रो भएको उनले बताए ।
उनले आफ्नो ५० लाख रुपैयाँको केरा क्षति भएको बताए । ‘मैले एक सिजनमा ३ करोडको केरा बेच्थें,’ उनले भने, ‘यस वर्ष २ करोड पुग्न पनि धौधौ छ ।’ सुवेदीले ७० बिघामा केराखेती गर्दै आएका छन् । गत वर्ष ७० रुपैयाँ दर्जनसम्म बिक्री भएको केराको मूल्य यस वर्ष ५० रुपैयाँभन्दा माथि पुग्न नसकेको उनले बताए । जिल्लामा अधिकांश किसानले मालभोग र जिनाइन केरा लगाएका छन् । – कृष्ण आचार्य/रासस