०९ असार २०८३, मंगलबार

हिजो दिनभर : नेकपामा सहमतिपछि सचिवालय बैठकको मिति तय, काठमाडौंमा निषेधाज्ञा थप्न सिफारिस

हिजो दिनभर : नेकपामा सहमतिपछि सचिवालय बैठकको मिति तय, काठमाडौंमा निषेधाज्ञा थप्न सिफारिस

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भएको छलफलले सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आउँदो शनिवार बिहान ११ बजे सचिवालय बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।

नेकपाभित्र देखिएको विवाद समाधानका निम्ति गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनउपर दुई अध्यक्षबीच आज छलफल भएको थियो ।

छलफलमा भाग लिन अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूबीच करीब २ घण्टा छलफल भएको हो । थापाले शनिवार बस्ने सचिवालय बैठकको एजेण्डा त्यही प्रतिवेदन रहेको बताए ।

काठमाडौंमा भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस

कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्बिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिहरूको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि तीनवटै जिल्ला प्रशासनले एउटै बेहोराको आदेश जारी गर्दै उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका थिए ।

संक्रमण फैलिन नदिन निषेधाज्ञा प्रभावकारी भएको निष्कर्षसहित भदौ १७ सम्म लम्ब्याउने निर्णय भएको हो ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा १५ गतेसम्म लम्ब्याएर परीक्षणको दायर बढाउन सुझाव दिएको थियो ।

संक्रमण फैलिन नदिन भन्दै मुलुकभरका कयौं जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौंमा पनि पहिलो चरणमा भदौ ३ देखि १० गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको थियो ।

थप ८ सय ५५ जनामा कोरोना पुष्टि, काठमाडौंमा मात्र २ सय ३२ जना; ७ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा २३२ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

मृतकको संख्या भने १६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो ।

उपत्यकामा कोरोना नियन्त्रण प्रयास– कसरी हुँदैछ कन्ट्याक्ट ट्रेसिङ र २६ हजार स्वाब संकलन ?

मंगलवार काठमाडौं जिल्लामा रहेका १ महानगरपालिकासहित अन्य ९ नगरपालिकाका मेयरहरूको बैठक राष्ट्रिय सभागृहमा बसेको छ । 

बैठकले कोरोना संक्रमितका लागि बनाउनुपर्ने आइसोलेसनका बारेमा छलफल गर्दैछ । कुन नगरपालिकामा कति आइसोलेसन बनाउने भन्ने बारेमा छलफल भइरहेको कागेश्वरी महानहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले लोकान्तरलाई बताए । 

गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यकामा रहेका ३ वटै जिल्लामा ६ हजार आइसोलेसन बेड निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको ५ दिनपछि उपत्यकाका मेयरहरू बल्ल तातेका छन् । 

'हामीले कहाँ–कहाँ आइसोलेसन बनाउन सकिएला भनेर छलफल गरिरहेका छौं,' कगेश्वरी मनहरा नगरपालिकाका मेयर थापाले भने । सोमवार बसेको उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको थियो । 

उपत्यकामा समुदायस्तरमा कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका थिए ।

परीक्षणका साथसाथै आइसोलेसन सेन्टर पनि निर्माण गर्नुपर्ने हुन्छ । केही दिनमा २६ हजारभन्दा बढी परीक्षण गर्ने निर्णय लिएको उपत्यका नगरपालिका फोरमलाई त्यस परीक्षणबाट प्राप्त हुने पोजिटिभ रिपोर्ट भएकालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने चुनौती पनि छ । 

उपत्यकामा जहाँतहीँ आइसोलेसन निर्माण पनि सहज छैन । कतिपय ठाउँमा स्थानीयले विरोध गर्न सक्ने सम्भावना कायमै देखिन्छ । केही दिनअघि बानेश्वरमा स्थानीयले डाक्टरहरूलाई आफ्नो समुदायमा आउन निषेधसमेत गरेका थिए । 

महानगरपालिकाका एक कर्मचारीले भने, 'परीक्षण प्रक्रिया शुरू भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका १८ वटा पालिकाका लागि एक/एक जना प्राविधिक तय गरिदिएको छ । ती प्राविधिकहरूलाई सम्बन्धित पालिकाको टीमले सहयोग गर्नेछ ।'

प्रत्येक पालिकाको टीमले फोकल पर्सनको नेतृत्वमा काम गर्नेछ । 

कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइसकेपछि परीक्षणका लागि पायक पर्ने प्रयोगशालामा लगिन्छ । 

परीक्षणमा संक्रमण भेटिएकालाई आइसोलेसनमा लैजाने प्रक्रिया पनि तत्काल गरिने ती कर्मचारीले बताए । 

त्यसैका लागि मेयरहरू आइसोलेसन सेन्टर निर्माणमा जुटिरहेका छन् । यद्यपि सरकारले ६ हजार आइसोलेसन निर्माण गर्ने भनेर निर्णय गरिसकेको एक साता बित्न लाग्दा पनि यो प्रक्रिया छलफलमै रहनु दुखद् छ । 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो नगरपालिकामा २ हजारको परीक्षण गरिने बताए ।

'कुनै नगरपालिकामा २ हजार, कुनैमा ३ हजार गरेर परीक्षण गर्ने निर्णय भएको छ, मेरो नगरपालिकामा परीक्षण गर्नुपर्नेमध्ये सबैभन्दा पहिला संक्रमितको सम्पर्कमा आएका हुनेछन् भने दोस्रो प्राथमिकतामा लक्षण देखिएकाहरू पर्नेछन् ।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार काठमाडौंमा हालसम्म २ हजार ७सय ७६ जना संक्रमित भेटिएका छन् भने यो संख्या ललितपुरमा ४ सय ४४ र भक्तपुरमा २ सय ८६ रहेको छ । 

उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएको काठमाडौंमा हो । त्योमध्ये पनि काठमाडौं महानगरपालिकामा अझ बढी संक्रमित देखिन्छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र कोटेश्वर र महाराजगञ्ज हो । हालसम्म यी दुवै क्षेत्रमा २ सय ५० भन्दा बढी संक्रमित फेला परिसकेका छन् । 

त्यस्तै काठमाडौंको सोह्रखुट्टे, कलंकी, बानेश्वर, महाबौद्ध, बालुवाटार, कालीमाटी, बागबजार, हाँडीगाउँ, लैनचौर, नक्साल डिल्लीबजार, स्वयम्भु, टेकु, चाबहिलजस्तै अन्य क्षेत्रहरूमा पनि संक्रमितको संख्या दोहोरो अंकमा देखिएको छ । 

देशको राजधानीसमेत भएकाले उपत्याकामा समुदायस्तरमै संक्रमण फैलिन नदिन संघीय सरकारले पनि यथेष्ट प्रयास गरिरहेको छ । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सदस्य रहेका एक मन्त्रीले देशको अन्य भागभन्दा बढी प्राथमिकता उपत्यकालाई दिनुपर्ने तर्क गरे । 

'उपत्यकामा पनि विशेष गरेर काठमाडौंलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं,' उनले भने, '६ हजार आइसोलेसनको निर्माण गर्ने निर्णय गरियो । अहिले २५ हजारभन्दा बढी टेस्ट गर्ने प्रक्रिया थालनी भएको छ । उपत्यकामा समुदायस्तरमै कोरोना फैलियो भने नियन्त्रणभन्दा बाहिर जाने डर हुन्छ ।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले पनि कोरोना रोकथाम र नियन्त्रणमा उपत्यकालाई प्राथमिकतामा राखेको बताए । गुरागाईंले लोकान्तरसँग भने, 'परीक्षण र आइसोलेसन निर्माणमा उपत्यकालाई फोकस गरिएको हो ।' 

एक हप्ताको निषेधाज्ञा सकिएपछि बल्ल काम शुरू हुँदैछ, पहिल्यै परीक्षण र आइसोलेसन निर्माणको तयारी किन गरिएन भन्ने लोकान्तरको अर्को प्रश्नमा उनले भने, 'परीक्षण भइरहेको छ । सबै काम सुचारू नै छन् । कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको काम सबै स्वास्थ्य सेवा विभागले गरिरहेको छ । काम नै भएन भन्ने होइन ।'गुरागाईंले

जनताले चाहेको संख्यामा एकैचोटी परीक्षण गर्न ल्याबले पनि नधान्ने र आइसोलेसनको संख्या पनि पर्याप्त नभएको स्वीकार गरे । 'सबै काम सन्तुलित ढंगबाट नै भइरहेको छ,' उनले भने, 'एक दुई ठाउँबाट गुनासो के आएको छ भने पोजिटिभ भेटियो, अब त्यसको कन्ट्याक्ट ट्रेसिङ चाहिँ समयमै हुन सकेन भन्ने छ । त्यसलाई थप प्रभावकारी बनाउन हामीले निर्देशन दिएका छौं ।'

उनले अहिले पनि कतिपय ठाउँहरूमा सील गरिएको र निषेधाज्ञा जारी गरिएको भएपनि लक-डाउन चाहिँ नभएको बताए ।

'हामीले पटक–पटक भनेका थियौं, जहाँ संक्रमण बढ्छ त्यहाँ सील गरिन्छ । लक-डाउन सबैतिर गर्ने खालको कुरा भएको छैन भन्ने कुरा हामीले पहिलादेखि नै भनेका थियौं । अब थपिने ७ दिनको निषेधाज्ञापछि पहिलाका संक्रमित सबै निको हुन्छन् भन्ने डब्ल्युएचओको पनि भनाइ हो । १५ गतेपछि केही उपलब्धीमूलक सिनेरियो देख्न पाइएला,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्