
मनाङमा मंगलवार थप २ जनामा कोरोना पुष्टि भएको छ ।
मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको गिरीले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको जनाएको छ ।
उनका अनुसार दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा संक्रमितको संख्या ५ पुगेको छ भने १ जना निको भइसकेका छन् । यही भदौ ७ गते संक्रमण पुष्टि भएका २ शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पीसीआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये बुधवार २ जनामा संक्रमण पुष्टि भएको हो ।
मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान र स्वाब संकनको कार्य समेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए ।
सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरू भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।