१६ असार २०८३, मंगलबार

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकस, ५ महिनासम्म पर्खिन्छन् परिवारजन

भदौ १०, २०७७
विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सकस, ५ महिनासम्म पर्खिन्छन् परिवारजन

महोत्तरीको बलवा नगरपालिका–३ का २७ वर्षीय विपिन यादवको साउदी अरबमा दुर्घटना हुँदा माघ २९ गते मृत्यु भयो । उनी २०७६ असार ९ गते नेपालबाट वैदेशिक रोजगारीमा गएका थिए ।

चालक पेशामा काम गर्ने यादव घरमा पैसा पठाउन पैदल बैंक जाने बेला दुर्घटनामा परेका थिए । गत माघ २९ गते कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो ।

मृतक यादवकी पत्नी सुधिरादेवी यादवका अनुसार मृत्यु भएपछि शव नेपाल ल्याउन निकै समस्या भयो । ‘जे हुनु भइहाल्यो, कम्तिमा शव घर ल्याएर सदगत गर्न पाए हुन्थ्यो भन्ने प्रतीक्षामा हामीले पटक–पटक नेपाल सरकारको परराष्ट्र मन्त्रालयदेखि कतारस्थित नेपाली राजदूतावासमा फोन गर्‍यौं तर हाम्रो कुरा सरकारले सुनेन,’ उनले गुनासो गरिन् । हारगुहार गर्दा पनि लामो समयसम्म यादवको शव नेपाल आएन ।

मृत्यु भएको ५ महिनापछि यादवको शव असार २७ गते स्वदेश आयो । त्यसपछि मात्र उनको दाहसंस्कार गरियो । मृतक यादवका पत्नीसँगै १० वर्षका कृष्णकुमार यादव र ५ वर्षका सुदीप यादव गरी २ छोरा छन् । हालसम्म बीमा तथा अन्य क्षतिपूर्ति पनि पाउन नसकेको उनले बताइन् ।

महोत्तरीको औरही नगरपालिका–१ का २३ वर्षीय अनिलकुमार चौधरीलाई गत वैशाख ८ गते कतारमा मृत्युदण्ड दिइयो । कतारमा ४५ वर्षीय अवकाश प्राप्त सैनिक अधिकारीको हत्या गरेको कसूरमा चौधरीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनका बुवा श्यामकिशोर चौधरीका अनुसार देशमा लकडाउन घोषणासँगै अन्तर्राष्ट्रिय उडान समेत अवरुद्ध भएका कारण शव मृत्यु भएको २ महिनापछि असार २ गते मात्र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो । ‘गोली प्रहार गरेर मृत्युदण्ड दिएपछि संस्कार गरेबापत ५० हजार रुपैयाँ त्यहाँको सरकारले दिने भनेर दूतावासले भनेको थियो,’ चौधरीले भने, ‘तर छोराको शवको मुख हेर्न र आफ्नै हातले दाहसंस्कार गरे सन्तुष्टि त हुने भनेर हामीले छोराको शवलाई स्वदेशमा नै फिर्ता ल्यायौं ।’ उनका १ मात्र छोरा थिए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ जुरी गाउँका ३६ वर्षीय छुतहरवा मण्डलको हृदयघातका कारण जेठ ३ गते कतारमा मृत्यु भयो । उनको मृत्यु भएको ५२ दिनपछि असार २५ गते मात्र शव स्वदेश आयो । मृतककी पत्नी ववितादेवी मण्डलका अनुसार उनी राति कोठामा सुतेका बेला सुतेको सुत्यै रहेका थिए ।

‘लकडाउनका कारण शव स्वदेश फिर्ता ल्याउन निकै समस्या मात्रै भएन, लामो समय त लाग्यो लाग्यो, १ लाख रुपैयाँ जति खर्च पनि भयो,’ उनले भनिन्, ‘शव ल्याउन काठमाडौं आउने–जाने तथा परराष्ट्र मन्त्रालयदेखि कतारको दूतावास तथा कम्पनीमा सम्पर्क गर्दागर्दै १ लाख रुपैयाँ जति खर्च भयो ।’ उनका पत्नी, ४ वर्षको छोरा मनिष र ५ वर्षकी छोरी मनिका छन् । 

गणेशमान चारनाथ नगरपालिका–१ का ४२ वर्षीय रामभजन मण्डलको पनि कतारमा मृत्यु भएको थियो । रक्तचापका कारण मृत्यु भएका उनको शव साउन ३ गते स्वदेश आएको थियो ।

धनुषाको धनौजी गाउँपालिका–५ का बौहर्वाका २३ वर्षीय मोहम्मद ईदो साफीको असार ४ गते कतारमा मृत्यु भयो । मृतक साफीका भाइ सकिर साफीका अनुसार उनको मृत्यु भएको १० दिनपछि मात्र दूतावासबाट घरमा खबर आयो । बिरामी भएर १० दिनजति अस्पताल भर्ना भएका उनको ‘ब्रेन ह्यामरेज’का कारण मृत्यु भएको खबर आएको थियो ।

‘हामीले शव स्वदेश ल्याउन धेरै कोशिस गर्‍यौं तर लकडाउनका साथै अन्तर्राष्ट्रिय उड़ान समेत स्थगित भएको कारण शव ल्याउन समस्या भएको थियो,’ मृतकका भाइ सकिरले भने, ‘कतारमा नै मेरा अर्को दाजु रसिद साफी पनि काम गर्ने गरेकाले कतारमा नै सदगत गर्नका लागि साउन ६ गते परराष्ट्र मन्त्रालयमार्फत सहमतिपत्र पठाएका थियौं ।’ सहमतिपत्र पठाएपछि साउन १२ गते उनको अन्तिम संस्कार गरिएको खबर पाएको उनले बताए । १४ महिनाअघि उनी वैदेशिक रोजगारीका लागि गएका थिए । उनी होटेलमा काम गर्थे ।

महोत्तरीको पिपरा गाउँपालिकाका २९ वर्षीय राजेश पासवानको जेठ १३ गते कतारमा मृत्यु भयो । हृदयघातका कारण मृत्यु भएका उनको शव असार २६ गते स्वदेश आयो । मृतक पासवानका भाइ रामविनय पासवानका अनुसार उनलाई दाँत दुख्ने समस्या थियो । दुखाइ कम हुने सुइ लिएर पनि निको नभएपछि थप उपचारका लागि अस्पताल पुग्दा हृदयघातका कारण मृत्यु भएको थियो । उनी २ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । मृतकका पत्नीसहित ९ वर्ष र २ वर्षका २ छोरा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–६ का २६ वर्षीय कृष्णकुमार भगतको असार २९ गते मलेसियामा मृत्यु भयो । ड्यूटीमा जाने क्रममा कार दुर्घटनामा परी उनको मृत्यु भएको थियो । उनका भाइ बलिराम भगतका अनुसार विगत ८ वर्षदेखि वैदेशिक रोजगारीका लागि जाने गरेको भए पनि ३ वर्षअघि बिदामा घर आएर फर्किएका थिए । उनको शव साउन १८ गते स्वदेश फर्किए पछि सदगत गरिएको थियो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ४१ वर्षीय बेचन मुखियाले साउदी अरबमा आत्महत्या गरे । २०७६ फागुन २८ गते झुण्डिएर आत्महत्या गरेका उनको शव १०५ दिनपछि मात्र असार १३ गते स्वदेश आएको थियो ।

विदेशमा निधन भएका व्यक्तिका शवलाई व्यवस्थित तरिकाले स्वदेश ल्याउन आप्रवासी स्रोत केन्द्र धनुषाले काठमाडौंस्थित वैदेशिक रोजगार बोर्ड, प्रवासी नेपाल समन्वय समिति, परराष्ट्र मन्त्रालय, विदेशस्थित राजदूतावास सहितका निकायमा समन्वय गरेर शव ल्याउन पहल गर्र्दै आएको छ । संस्थाका कर्मचारी सौरभ कर्णका अनुसार वैदेशिक रोजगार बोर्डले विदेशबाट निःशुल्क रुपमा शव ल्याउन पहल गर्ने गरेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु 

जनकपुरधाम उपमहानगरपालिका–२३ का ५० वर्षीय एक पुरुषको साउदी अरबमा असार १४ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनका सालाका अनुसार पहिलेदेखि नै स्वास्थ्य खराब भएका उनी पैदल नै हिँडिरहेको अवस्थामा श्वास फेर्न समस्या भएपछि सडकमा ढलेका थिए । पछि एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालमा भर्ना भएको १ हप्तापछि उनको हृदयघातका कारण मृत्यु भएको थियो । ‘तर पछि शवको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको भनेर अस्पतालले पुष्टि गरेको थियो,’ उनले भने, ‘मृत्यु भएको खबर आए पछि हामीले शवको सदगत गर्न साउन ९ गते सहमतिपत्र पठाएका थियौं ।’ साउन १४ गते शवलाई दफनाइएको भनेर दूतावासले खबर पठाएको थियो । विगत साढे ३ वर्षदेखि उनी एउटा सुपर मार्केटमा काम गर्ने गर्थे । उनका पत्नी, ५ छोरी र १ छोरा छन् । २ छोरीको बिहे भइसकेको छ भने छोरा ८ वर्षका छन् ।

धनुषाको शहीदनगर नगरपालिका–८ का ४० वर्षीय एक पुरुषको चैत्र २६ गते कतारमा मृत्यु भएको थियो । उनका छोराका अनुसार बाथरुममा नुहाउन गएका बेला बाथरुमभित्रै ढलेर मृत्यु भएको थियो । २ घण्टा जति उनी बाथरुममा नै रहेपछि एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । 

‘मृत्यु भएको ९ दिनपछि दूतावासले हामीलाई खबर कोरोना संक्रमणको कारण मृत्यु भएको तथा शवको सदगत गर्न सहमतिपत्र पठाउन भनेर जानकारी दिएको थियो,’ उनले भने, ‘साउन १२ गते हामीले सहमतिपत्र पठाएपछि सदगत भएको थियो ।’

नेपालमा पनि लकडाउन भएका कारण सदगतको सहमतिपत्र पठाउन नै धेरै समय लागेको उनले बताए । ३ महिनाभन्दा पनि बढी समयसम्म उनको शवलाई अस्पतालको शवगृहमा राखिएको थियो । १० महिनाअघि कतार गएका उनी एसी मशिन मर्मत गर्ने प्राविधिकको रूपमा काम गर्थे । 

धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ का ३३ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण वैशाख १४ गते कतारमा मृत्यु भयो । ज्वरो आएपछि उनलाई अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो । ‘मृत्यु भएको १ हप्तापछि हामीलाई दूतावासले कोरोना संक्रमणको कारण मृत्यु भएको भनेर खबर गरेको थियो,’ मृतकका भिनाजुले भने, ‘परराष्ट्र मन्त्रालयले पनि कोभिड कम्प्लिकेसनका कारण मृत्यु भएकाले शवको संस्कार गर्न सहमतिपत्र मागेको थियो ।’ साउन २६ गते सहमतिपत्र पठाएपछि उनको सदगत गरिएको थियो । 

उनी ट्याक्सी चालकको काम गर्थे । चैत्रमा नै उनी बिदामा घर आउन विमानस्थल पुगेका थिए । चैत ११ गते जब उनी नेपाल आउन विमानस्थल गए, नेपालमा पनि चैत्र ११ गते नै लकडाउन घोषणा भएपछि उनी घर आउन सकेनन् । 

लकडाउन अवधिमा २ नम्बर प्रदेशका १ हजार ३०० नेपाली स्वदेश फिर्ता

तेस्रो मुलुकबाट काठमाडौंमा होल्डिङ सेन्टर हुँदै २ नम्बर प्रदेशमा असार १८ गतेसम्म १ हजार ३८१ नेपाली स्वदेश फर्किएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार सप्तरीमा १४५ जना, सिरहामा १९० जना, धनुषामा ३९७ जना, महोत्तरीमा १९२ जना, सर्लाहीमा १६५ जना, रौतहटमा ९१ जना, बारामा ११७ जना र पर्सामा १ हजार ३८१ जना नागरिक स्वदेश फर्किएका छन् ।

यूएई, कुवेत, बंगलादेश, थाइल्याण्ड, ओमान, मलेसिया, कतार, माल्दिभ्स, साउदी अरब, बहराइन, पाकिस्तान, अस्ट्रेलिया, बहराइन लगायतका मुलुकबाट उनीहरू स्वदेश फर्किएका छन् ।

केही विद्यार्थीबाहेक वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक स्वदेश फर्किएका २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले बताए । ‘कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीका लागि विदेशमा पनि बेरोजगार भएको अवस्थामा ती नागरिक कामविहीन बनेपछि स्वदेश फर्किएका हुन्,’ सिंहले भने, ‘उच्च शिक्षा आर्जन गर्न गएका विद्यार्थीहरू कलेज बन्द भएका कारण तथा कोरोनाको जोखिमका कारण स्वदेश फर्किएका हुन् ।’  

चैत्र ११ गतेदेखि हालसम्म ३१ हजार ३७ जना २ नम्बर प्रदेशका नेपाली नागरिक स्वदेश फर्किएका छन् । प्रदेशका ८ जिल्लामध्ये सबैभन्दा बढी व्यक्ति रौतहटमा फर्किएका छन् । सप्तरीमा ४ हजार १४१, सिरहामा ४ हजार ३५२, धनुषामा १ हजार ९२७, महोत्तरीमा ४ हजार १२९, सर्लाहीमा २ हजार ७२०, रौतहटमा ७ हजार ९८९, बारामा २ हजार ३४४, पर्सामा ३ हजार ४३५ जनाले भारतबाट नेपाल प्रवेश गरेका छन् ।

जेठ १ गतेदेखि हालसम्म कूल २२ हजार ८८९ जना व्यक्ति २ नम्बर प्रदेशको नाकाबाट भारततर्फ गएका छन् । सप्तरीको नाकाबाट ९५ जना, महोत्तरीको नाकाबाट ४५१ जना, रौतहटको नाकाबाट २१२ जना, बाराको नाकाबाट ६७  र पर्साको नाकामा सबैभन्दा बढी २२ हजार ६४ जना भारततर्फ गएका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका कारण विदेशबाट शब ल्याउन निकै सकस हुने गरेको छ । बैदेशिक रोजगारीका शिलशिलामा तेस्रो मुलुक गएका नेपाली नागरिकहरुको ती देशहरुमा मृत्यु भए पछि शब ल्याउन निकै समस्या उत्पन्न हुने गरेको छ । कोरोना संक्रमणको कारण लक डाउन भए सँगै अन्तरराष्ट्रिय उडानहरु समेत अवरुद्ध हुँदा स्वाभाविक रुपमा मृत्यु भएका नेपाली नागरिकको शब फिर्ता ल्याउन लामो समय लाग्ने गरेको छ ।

विदेशमा नै कोरोना संक्रमणको कारण मृत्यु हुनेहरूको ती देशमा नै शवको सदगत गर्नका लागि अनुमति दिएर संस्कार गराउन समेत लामो समय लाग्ने गरेको छ । मृत्यु भएको ४ देखि ५ महिना सम्ममा शब स्वदेश फिर्ता आएको छ भने विदेशमा नै पनि  सदगत गर्न लामो समय लाग्ने गरेको कारण मृतकका परिवारलाई थप समस्या तथा पीडा हुने गरेको छ । शवको पर्खाईमा परिवारजनको हाल बेहाल हुने गरेको छ ।    

salt training

कमेन्ट गर्नुहोस्