०२ साउन २०८३, शनिबार

सिन्धुपाल्चाेकका बाढीपहिरो विस्थापितलाई भेटेर सभामुखले भने- एकीकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढछ

सिन्धुपाल्चाेकका बाढीपहिरो विस्थापितलाई भेटेर सभामुखले भने- एकीकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढछ

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

बुधबार लिदी पहिरोबाट विस्थापित भई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता जनाएका हुन्। 

उनले काठमाडाै‌ंमा सोमबार भएको उच्चस्तरीय छलफलमा महाविपत्तिमा परेको सिन्धुपाल्चोकमा नमुना बस्ती बनाउने विषयमा संकल्प गरिएको जानकारी गराउँदै चाँडो जग्गा प्राप्तिको सुरुआत गर्ने र व्यवस्थित एकीकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढाइने बताए। 

देशमा ७७ वटा जिल्ला भएपनि सिन्धुपाल्चोकमा महाविपत्तिमा परेकोले यस जिल्लालाई मोडेल बनाउने विषयमा सहमती भएको उनको भनाइ छ।

सभामुख सापकोटाले जिल्लावासीको पीडा, दुःख र कठिनाइका विषय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सविस्तार जानकारी गराउने बताए। 

सभामुख सापकोटाले सबैभन्दा पहिले लिदी पहिरोमा परिवार गुमाएका बालबालिकाको व्यवस्थापन गरिने बताउँदै उनीहरुको शिक्षादीक्षाको उचित व्यबस्था गरिने बताए।

उनले जुगल गाउँपालिकाका विस्थापितका लागि जुगलको बाँसखर्कमा तथा बाह्रविसे र भोटेकोशीका विस्थापितका लागि बन्देउमा स्थानीय तहका जनप्रतिनिधि र जिल्ला विपद व्यवस्थापन समितिमार्फत राहत सामग्री हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीमा टेन्ट, सोलार बत्ती, न्यानो कपडा भान्सा र सरसफाइका सामान लगायत छन्। 

सभामुख सापकोटासँगै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, बैकल्पिक उर्जा प्रवद्धन केन्दका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्ट लगायत बाँसखर्क गएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्