२५ जेठ २०८३, सोमबार

७० दिनमा दिल्लीबाट लन्डन पुगिने बस सेवा शुरू हुँदै

भदौ ११, २०७७
७० दिनमा दिल्लीबाट लन्डन पुगिने बस सेवा शुरू हुँदै

तपाईं बस चढेर संसारको एक कुनाबाट अर्को कुना जान इच्छुक हुनुहुन्छ ?

यात्रा कम्पनी एड्भेन्चर्स ओभरल्यान्डले भारतको राजधानी दिल्लीबाट बेलायतको राजधानी लन्डनसम्म जाने बस सेवा शुरू गर्न खोजेको छ । 

यस विलासी बसमा २० जना यात्रु हुनेछन् । सन् १९५०/ ६० को दशकमा संसार घुम्न हिप्पीहरूको बसबाट यो आंशिक प्रभावित भएको हो । 

बसले ७० दिनमा १८ वटा देश पार गर्नेछ । यात्रुहरूले यात्राका क्रममा म्यान्मारका पगोडा, चीनको ग्रेट वाल र मस्को तथा प्राग जस्ता ऐतिहासिक शहरको पनि भ्रमण गर्न पाउनेछन् । 
 

एड्भेन्चर्स ओभरल्यान्ड तुषार अग्रवाल र सञ्जय मदनले शुरू गरेका हुन् । उनीहरू यात्रामा अत्यन्तै रुचि राख्छन् ।

सन् २०१० मा लन्डनबाट दिल्लीसम्म एक्लै गाडी चलाएर आएपछि बस सेवा शुरू गर्ने विचार आएको अग्रवाल बताउँछन् । 
 

एड्भेन्चर्स ओभरल्यान्ड आरम्भ गरेदेखि अग्रवाल र मदनले भारतबाट बेलायतसम्मका तीन यात्रा गराइसकेका छन् । त्यसक्रममा यात्रुहरूले आफ्नै गाडी ल्याउँछन् र जत्था बनाएर हिँड्छन् । 

उनीहरूले आइसल्यान्डका हिउँमा अनि रुसका जमेका तालमा ड्राइभिङ पनि गराएका छन् । 

‘धेरै मानिसलाई यसरी सडकमार्गबाट यात्रा गर्न मन लाग्छ तर उनीहरू गाडी चलाउा चाहिँ चाहँदैनन्,’ अग्रवालले भने । ‘त्यसैले हामीहरूले मानिसहरू आरामदायी रूपमा बसमा बसेर लामो यात्रा गरून् भन्ने सोचका साथ बस सेवा शुरू गरेका हौं ।’

लन्डनसम्म जाने बसको पहिलो यात्रा सन् २०२१ को मध्यतिरबाट शुरू हुनेछ । त्यतिखेरसम्म कोरोनाभाइरसका कारण लगाइएका नियन्त्रण खुकुलो हुने अपेक्षा छ । 

‘यात्राका लागि सबभन्दा राम्रो समय अप्रिलदेखि जुन महिनासम्म हो किनकि त्यतिखेर भारतबाट म्यान्मार हुँदै चीन र किर्गिजस्तानका अग्ला पहाड पार गर्न अनुकूल मौसम रहन्छ,’ अग्रवालले भने । 

यो सडकयात्रा सस्तो चाहिँ छैन । अग्रवालका अनुसार, यसका लागि २० हजार डलर अर्थात् लगभग २४ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तर बीच बाटोसम्म मात्र जान्छु भन्न पनि पाइन्छ ।
 

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्