यस वर्ष किम जोङ उन केही साताका लागि हराएपछि अनेकौं अनुमान गरिए । कसैले उनको मृत्यु भएको भने अनि कसैले उनी काम गर्न नसक्ने गरी निष्क्रिय बनेको बताए ।
तर तीन साताको अन्तरालपछि किम देखापरे अनि सबै अनुमान विफल गराए ।
अहिले चाहिँ विगत एक महिनादेखि किमकी बहिनी यो जोङ सार्वजनिक स्थानमा नदेखिएको भन्दै अडकलबाजी शुरू भएका छन् । दक्षिण कोरियाको गुप्तचर निकायले यो जोङलाई किमले शक्ति हस्तान्तरण गरेको दाबी गरेपछि उनी नै दाइको उत्तराधिकारी बनेको अनुमान गर्न थालियो ।
चोसुन इल्बो पत्रिकामा आएका खबरअनुसार, यो जोङलाई अन्तिमपटक जुलाई २७ मा दाइ किमसँग देखिएको थियो । उनी त्यसपछि गायब भएको विषयमा अनुमान गर्दै दोस्रो शक्तिशाली व्यक्तिका रूपमा आफूलाई देखाउन नचाहेकाले गोप्य बसिरहेको बताइयो ।
‘
विगतमा कसैलाई दोस्रो शक्तिशाली व्यक्ति भनी वर्णन गर्नेबित्तिकै पदबाट हटाइने गरिन्थ्यो,’ कोरिया विश्वविद्यालयका प्रा नाम सुङ–वुकले उक्त पत्रिकालाई बताए । ‘किम यो जोङ परिवारकै सदस्य भए पनि चेक यान्ड ब्यालेन्स देखाउनुपर्ने होला ।’
किमले कोभिड महामारी र तुफान बाभीका विषयमा बोलेको पोलिटब्युरो बैठकमा यो जोङ अनुपस्थित रहेको कुरा चोसुन इल्बोले उल्लेख गरेको छ ।
हालैका महिनामा यो जोङ दाइलाई किमको सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गरिँदैछ । तर किमले कार्यभार सुम्पेर आराम गर्न मात्र चाहेको, उत्तराधिकारी नै चाहिँ तोकिनसकेको पनि बताइँदैछ ।
अनुमानकै खेती चलिरहँदा धेरैजनाले यो जोङ उत्तर कोरियाको शासक बन्ने सम्भावनामा विचार गरिरहेका छन् । उनी आफ्ना दाइ, बुवा र हजुरबुवाभन्दा निकै कठोर र तानाशाही भएको बताइन्छ ।