१५ असार २०८३, सोमबार

सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको नतिजा सार्वजनिक

सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको नतिजा सार्वजनिक

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यस वर्षको ‘सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा प्रकाशन गरेको छ ।

साउन १० देखि १६ गतेसम्म सञ्चालित ‘सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को आज सार्वजनिक गरिएको नतिजाअनुसार वरिष्ठतर्फ सेन्ट जेभियर्स स्कुल, जावलाखेल, ललितपुरका आकाश गुरुङ प्रथम हुनुभएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दीबीच सञ्चालन गरिएको कनिष्ठ तर्फको  प्रतियोगितामा रेन्बो एकेडेमिक होम्स सेकेन्डरी स्कुल, पोखरा, कास्कीका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका १३ देखि १९ वर्ष उमेर समूहका नेपाली विद्यार्थीले भाग लिन पाउने उनले जानकारी दिए।

बन्द शिविरमा नेपालका सात वटै प्रदेशमा सञ्चालन भएको प्रथम तथा दोस्रो चरणबाट छनोट भएका ३९ विद्यार्थीले सक्रिय सहभागिता जनाएका थिए । कोभिड–१९ को महामारीबीच यस वर्ष बन्द शिविर भर्चुअल रुपमा सञ्चालन गरिएको थियो । 

बन्द शिविरमा विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली तथा विदेशी विषय विज्ञमार्फत खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो । शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तर्राष्ट्रिय एष्ट्रनोमी ओलम्पियाडमा सहभागिताको अवसर प्रदान गरिने जनाइएको छ । यस वर्ष कोरोनाको डरका कारण अन्तर्राष्ट्रिय ओलम्पियाड भर्चुअल तरिकाले सञ्चालन हुने अध्यक्ष सुरेश भट्टराईले सुनाए । 

कोभिड–१९ को महामारीले कार्यक्रम आयोजना गर्न असहज परिस्थिति सृजना भएको भए पनि विद्यार्थीको मिहिनेत र लगनशीलता खेर जान नदिन भर्चुअल तरिकाले भए पनि बन्द शिविर सञ्चालन गरिएको थियो । प्रयोगात्मक पक्षको कक्षा सोचेजस्तो गर्न कठिन भए पनि अन्य पक्ष विगतमा भन्दा राम्रोसँग सञ्चालन गर्न ‘राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड’ सक्षम भएको जनाइएको छ । कार्यक्रमसम्बन्धी थप जानकारी चाहिएमा वा जिज्ञासा भएमा ww.nepalastronomicalsociety.org/olympiad मा हेर्न सकिने सोसाइटीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्